काठमाडौं, २७ मंसिर । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले तीन दिने नेपाल भ्रमणमा महत्वपूर्ण भेटवार्ता गरेका छन् । उनले बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । ओलीसँगको भेटमा उनलाई नेपाल भ्रमणको निम्तो दिने नेकपा महासचिव विष्णु पौडेल पनि साथै थिए । तर, दुवैले भेटका बेला मास्क लगाएका थिएनन् ।
कोरोना भाइरसको महामारीका बखत सामाजिक दुरी कायम गरी भेटवार्ता नगरी विना मास्क भेटी फोटो समेत सार्वजनिक भएको छ । बालुवाटारमा प्रधानमन्त्री ओली चौथाइवालेसँग विना मास्क देखिएका छन् । ओलीको दायाँबायाँ चौथाइवाले र मन्त्री पौडेल पनि विना मास्क छन् ।
चौथाइवालेले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटे । उक्त भेटमा पनि दुवैले मास्क लगाएका छैनन् ।
अर्थमन्त्री विष्णु पौडेलसँगको छुट्टै भेटमा पनि मास्क छैन । दुवै विना मास्क देखिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि चौथाइवालले भेटे । उक्त भेट पनि विना मास्क भएको देखिन्छ ।
पूर्व सभामुख सुवासचन्द्र नेम्वाङसँग पनि चौथाइवालेले भेटेका थिए । भेटमा नेम्वाङले मास्क तल झारेका छन् ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने भेटमा मास्क लगाएका छन् । राजेन्द्र महतोले मास्क झिकेर हातमा लिएका छन् ।
यसैगरी, विश्वस्त स्रोतले जानकारी दिए अनुसार दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा ढिलो पुग्दा उनको फ्लाइट छुटेको थियो । त्यसपछि गोरखपुर हुँदै स्थलमार्गबाट काठमाडौं आएका थिए ।