Logo

परिषद् बैठक अन्योलमा



काठमाडौं, मंसिर २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्योलमा परेको छ। प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उक्त बैठकमा नजाने दुवै नेताका सचिवालयले जनाएका छन्।

सभामुख सापकोटा नजाने सूचना पाएपछि देउवाले आफू अनुपस्थित हुने जानकारी प्रधानमन्त्री ओलीलाई गराएको कांग्रेस स्रोतले बतायो। परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। ‘सभामुख नै नआउने भएपछि गणपूरक संख्या पुग्दैन’, कांग्रेस स्रोतले भन्यो, ‘अनि, प्रमुख प्रतिपक्षी दलका नेता जानुको के अर्थ रु’ संवैधानिक नियुक्तिका विषयमा प्रधानमन्त्रीसँग ठोस समझदारी नभएकाले परिषद् बैठकमा जानुको औचित्य नरहेको देउवानिकट एक नेताले बताए।

संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ। उपसभामुख पद लामो समयदेखि रिक्त छ। संवैधानिक परिषद् ऐन २०६६ मा बैठकको गणपूरक संख्याका लागि अध्यक्ष र चार जना सदस्यको उपस्थिति आवश्यक हुने उल्लेख छ। अहिले परिषद्मा प्रधानमन्त्रीसहित पाँच जना मात्रै सदस्य छन्। एक जना सदस्य मात्रै अनुस्थित भए बैठकका लागि गणपूरक संख्या पुग्दैन।

 

देउवाले भने बैठकमा सहभागी नहुनुको कारण सोमबारका लागि पूर्वनिर्धारित पार्टीको विरोध कार्यक्रमलाई देखाएका छन्। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्