Logo

ओली-प्रचण्ड विवाद यथास्थितिमा, बैठक सार्ने शर्तमा ओली सहभागी हुँदै



काठमाडौं, २८ मंसिर । आज दिउँसो बस्ने नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुँदैछन् । यसअघि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको छ । दिउँसो १ बजे बस्ने बैठक एक घन्टा मात्र बस्ने बुझिएको छ ।

बैठकमा थोरै नेताहरुले मात्र बोलेर केही दिनका लागि स्थगित गर्ने तयारी भएको छ । हिजो स्थायी कमिटी सदस्य शंकर पोखरेलको सक्रियतापछि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली उपस्थित हुने माहोल तयार भएको थियो । तर, बैठकमा आज राजनीतिक प्रतिवेदनमाथि भने छलफल अगाडि नबढ्ने भएको छ । सकारात्मक सन्देश दिनेगरी ओली सहभागी भई बैठक अगाडि बढाउने र सहमतिको प्रयास अगाडि बढाउने तयारी भएको छ ।

सहमतिको लागि दुवै अध्यक्षबीच छलफल बढेको छ । पटक पटकको छलफलपछि पनि दुवै नेता पछि हट्न चाहेका छैनन् । अहिलेलाई विवाद यथास्थितिमा राखी सहमतिका लागि पहल गर्ने र बैठक पनि तत्काललाई सार्ने सहमति भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्