Logo

यार्सागुम्बा सहित ४ जना पक्राउ



काठमाडौं, २८ मंसिर । अवैध यार्सागुम्बा सहित ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । करिब ४ सय ६८ ग्राम अवैध यार्सागुम्बा जस्तो देखिने वस्तु सहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने सुर्खेत घर भएका शेर बहादुर थापा, काठमाडौं बुढानिलकण्ठ बस्ने संखुवासभा चैनपुर घर भएका हिमाल गुरुङ, काठमाडौं गोकर्णश्वर बस्ने सिन्धुली घर भएका बिशाल परियार र काठमाडौं गोकर्णश्वर बस्ने रामेछाप घर भएका सुनिल तामाङ रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा अबैधरुपमा यार्सागुम्बा बिक्री हुने गरेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बिशाल र सुनिललाई जाँच गर्दा उनीहरुको साथबाट १२ पीस यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

थप अनुसन्धानको क्रममा उनीहरुलाई उक्त वस्तु शेर बहादुरले दिएको बताएपश्चात महानगरीय प्रहरी वृत्त महाराजगंजको समन्वयमा शेर बहादुरको कोठामा लुकाई राखेको अवस्थामा उक्त वस्तु फेला पारी प्रहरीले शेर बहादुर समेतलाई पक्राउ गरेको बताएको छ । शेर बहादुरलाई उक्त वस्तु दिने हिमाललाई काठमाडौं महानगरपालिका–४ सुकेधारामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

बरामद बस्तु आवश्यक अनुसन्धानका लागि वन कार्यालय हात्तिसार नक्साल पठाएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्