Logo

अझै फर्केनन् ठमेलका व्यवसायी



काठमाडौं, मंसिर २९ । आफूले वर्षौंदेखि व्यापार व्यवसाय गर्दै आएका सटर बन्दाबन्दीका कारण छोडेर गएका ठमेल क्षेत्रका व्यापारीहरू अझैसम्म फर्किन सकेका छैनन् । बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेललगायत त्यस वरपरका व्यापारीहरूले सटर खाली गरेका थिए ।

ठमेल, पकनाजोल, छत्रपाटी, कालधारा, नरदेवीलगायत स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलालगायत व्यवसायमा आबद्ध करीब ७ सयभन्दा धेरै व्यापारीले आपूmले गर्दै आएको पेशा व्यवसाय छाडेर सटर खाली गरिदिएका थिए ।

महामारीको प्रभावका कारण लामो समयसम्म पर्यटन व्यवसायको अवस्था सुधार हुने अवस्था नदेखिएकाले व्यवसायीहरू नफर्किएका ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवीश्वर शर्माले बताए ।

उनका अनुसार अन्य पेशा व्यवसायमा संलग्न व्यवसायीहरू सानो संख्यामा फर्किए पनि पर्यटन पेशामा आबद्ध व्यवसायीहरू भने फर्किने अवस्था देखिएको छैन । ‘अझै पनि व्यापार व्यवसायको अवस्था राम्रो नभएकाले महँगो भाडा तिर्न व्यापारीहरू तुरुन्तै फर्किहाल्ने अवस्था छैन । यस क्षेत्रका व्यापारीहरू ‘पर्ख र हेर’को स्थितिमा छन्,’ उनले भने ।

यस क्षेत्रमा साना तथा ठूला गरी करीब १० हजारभन्दा बढी व्यवसायी रहेका आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्