Logo

नेताकै वेवास्ताका कारण संवैधानिक परिषद् बैठक स्थगित



काठमाडौं, मंसिर २९ । लामो समयपछि बोलाइएको संवैधानिक परिषद्को बैठकलाई पनि राजनीतिक पार्टीका नेताहरुले वास्ता नगरेपछि स्थगित भएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार परिषद्को बैठक बोलाएको बैठक स्थगित भएको हो

विपक्षी दलका नेताको हैसियतले संवैधानिक परिषद्को सदस्य रहेका शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको बताइएको छ । देउवा नेपाली कांग्रेसले गर्ने भनिएको आन्दोलनलाई लक्षित गरी परिषद्को बैठकमा अनुपस्थित भएका हुन् ।

परिषद्को बैठक बस्न नसकेपछि लामो समयदेखि संवैधानिक निकायमध्ये केही पदाधिकारीविहीन अवस्थामा छन् भने केही अपूरो अवस्थामा छन् । परिषद्को बैठक बस्न नसकेपछि राष्ट्रिय मानव अधिकार आयोग विगत डेढ महिनादेखि रिक्त रहेको छ ।

आयोगका एक कर्मचारीका अनुसार आयोगमा नियमित प्रशासनिक कार्यबाहेक अन्य कार्य हुन सकेको छैन । आयोगले पदाधिकारीविना सरकारलाई कुनै पनि सिफारिस वा निर्देशन दिन सक्दैन । आयोगमा अध्यक्षसहित पाँच पद रिक्त रहेको छ । डेढ वर्षअघि आयोगका पाँचै जना पदाधिकारीले ६ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएका थिए ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित तीन पद रिक्त रहेको छ । हाल आयोगमा दुई जना पदाधिकारी मात्र रहेका छन् । नेपालको संविधानमा आयोगमा आवश्यकतानुसार सदस्य हुने भनी ब्यवस्था गरिएको भए पनि परम्पराअनुसार अध्यक्षसहित पाँच जना सदस्यको चयन गरिँदै आएको छ ।

परिषद्को बैठक नबसेर असर परेको अर्को निकाय हो– निर्वाचन आयोग । निर्वाचन आयोगमा २ आयुक्तको पद रिक्त रहेको छ । राष्ट्रि«य प्राकृतिक स्रोत तथा वित्त आयोगमा चार पदाधिकारीको पद रिक्त रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्