Logo

उखु किसान अन्तिम लडाइँमा



काठमाडौं, मंसिर २९ । सर्लाहीको रामनगर गाउँपालिका खैरबा टोलका उखु किसान रामेश्वरप्रसाद यादवको टाउकोमा ५ लाख रुपैयाँको ऋण साँवा र ब्याजको भारी थपिएको छ। अन्नपूर्ण चिनी मिललाई उखु बिक्री गरेबापत पाउनुपर्ने ४ वर्षको १ लाख ७२ हजार रुपैयाँ भुक्तानी नपाउँदा उनलाई ऋण लागेको हो।

उमेरले ७० कट्न लागेका यादवले उखु खेती गर्दा साहुमहाजनबाट चर्को ब्याजदरमा ऋण लिएका थिए। मिलबाट उखुको भुक्तानी नपाउँदा ब्याज बढेर ५ लाख पुगेको हो।

‘भुक्तानी पाइएको भए उही बेला साहुमहाजनलाई ऋण चुक्ता गर्थें’, भक्कानिँदै यादवले भने, ‘अब पनि भुक्तानी पाइएन भने आत्महत्या गर्नुको विकल्प छैन।’ उखु बिक्री गरेका अधिकांश किसानले ०७१ सालदेखि चिनी मिलबाट बक्यौता पाएका छैनन्। त्यही भएर करिब ६० जना किसान काठमाडौं आएर थापाथलीमा आन्दोलन सुरु गरेका छन्।

बक्यौता पाउन गत वर्ष पुस गतेदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गरेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुस १८ गते सम्पूर्ण बक्यौता उपलब्ध गराइदिने भन्दै पाँचबुँदे लिखित सहमति किसान संघर्ष समितिसँग गरेको थियो।

सहमतिपत्रको पहिलो बुँदामै ‘नेपाल सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको किसानको सम्पूर्ण बक्यौता चिनी उद्योगीले ०७६ माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने’ उल्लेख रहेपनि रकम भुक्तानी नभएपछि अहिले पुनः किसान आन्दोलन गर्न राजधानी आईपुगेको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्