विपिन देव: चिनियाँ नेता देङ्ग चीनको अवस्था प्रति चिन्तित थिए । सारा संसारमा चिनियाँ उद्यमीको पौरखले विकासको दीयो प्रज्वलित थियो । तर चीनमा चिनियाँ व्यापारी र प्राविधिकहरु सफल हुँदैनथ्यो । लामो चिन्तन र मन्थन पछि देङ्गले चिनियाँ अर्थतन्त्रलाई संसारको अर्थतन्त्रसँग जोडेर अभूतपूर्व आर्थिक सफलता प्राप्त गरे । पी.पी. ट्रमलाई आधार मान्ने हो भने चीनको अर्थतन्त्र अमेरिका भन्दा माथि गई सकेको छ । दोस्रो नम्बरमा अमेरिका र तेस्रो नम्बरमा भारत पर्दछ । सन् २००९ मा चीनको रिटेल व्यापार १.८ ट्रिलीयनको थियो भने अमेरिकाको ४ ट्रिलीयन थियो । सन् २०१९ मा चीनको रिटेल व्यापार ६ ट्रिलीयनमा पुगेको थियो भने अमेरिकाको रिटेल व्यापार ५.५ ट्रिलीयनमा मात्रै सिमित थियो । यसरी चीनको अभूतपूर्व सफलताको कारण खुला अर्थ व्यवस्था नै हो ।
आज इतिहासको यही परिघटना भारतसँग तेर्सिएको छ । संसारको सब भन्दा सफल, उद्यमी, बौद्धिक र शिल्पी समुदायका रुपमा भारतीय समुदायलाई लिइन्छ । अमेरिकाको क्यालिफोर्नियामा भारतीय मुलका १० लाख जनसंख्या रहेका छन् जो कि आर्थिक र बौद्धिक रुपमा सबभन्दा अब्बल देखिन्छन् । अर्थात् भारतीयहरु सारा संसारमा सफल भए तापनि भारतको आर्थिक र राजनीतिक संरचनामा सफल नहुनुको कारण भारतका नीतिगत कमजोरी हुन सक्ने जानकारहरुको तर्क रहेको रहेको छ । सिंगापुर लीक्वान विश्वविद्यालयका प्राध्यापक किशोर मेह्बुबानीले आफ्ना चिन्तन आफ्ना पुस्तक “हाजचाइनावन” बाट सार्वजनिक गरेका छन् ।
मेह्बुबानीले भारत आफ्नो आर्थिक महत्वाकांक्षालाई प्रत्याभूत गर्न चीनसँगको आर्थिक सम्बन्धलाई घनिभूत बनाउनु पर्दछ । अस्सीको दशकमा भारत र चीनको आर्थिक आकार एकैनासको भए तापनि विगतका चार दशकमा चिनियाँ अर्थतन्त्र भारतको भन्दा चार गुणाले बढी रहेको तथ्यांकले देखाएको छ । मेह्बुबानीले मोदीको आर्थिक नीतिलाई प्रश्नको घेरामा राखेका छन् । उनका अनुसार भारतले आरसेप (रिजनल को–अपरेसन अफ इकोनोमिक पार्टनर सिप) मा हस्ताक्षर नगरेर ठुलो भुल गरेको छ । भारतको यो नीतिबाट आसियान मुलुकहरु मर्माहत भएका छन् । आसियानका १० मुलुकहरु मध्ये ९ मुलुकहरुमा भारतीय संस्कृतिको गहिरो प्रभाव रहेको छ । फिलिपिन्स जस्ता क्याथोलिक मुलुकले ईस्ट एसियन समिट गर्दा अतिथिहरुको स्वागत र सम्मानमा महाभारतको कार्यक्रमको आयोजना गरेको थियो । अतिथि मण्डलीमा अमेरिकी राष्ट्रपतिदेखि चिनियाँ राष्ट्रपति पनि थिए । भनाइको अर्थ आरसेपमा भारतको सहभागिताले आसियानको भावनालाई सम्बोधन हुन्थ्यो ।
भारतका विदेशमा मिलाका सिद्धहस्त पुर्व राजदुत शिवशंकर मेननले पनि यस तर्कको औचित्यतालाई स्वीकार गरेका छन् । भारतको रणनीति र कुटनीति अर्थनीतिलाई अगाडी बढाउनमा केन्द्रित हुनु पर्दछ । इतिहासमा चीनसँग सबभन्दा जोडतोडले भिडन्त गर्ने भियतनामी नै हुन् । सन् १९७९ देखि सन् १९९० सम्म चीन र भियतनामको बोर्डर संसारको सबभन्दा तनावयुक्त बोर्डर रहेको थियो । भियतनामीहरुको मानस पटलमा चिनियाँप्रति सद्भाव हुँदैन । तर भियतनामले चिनियाँ अर्थतन्त्र सँग प्रचुर मात्रामा लाभ लिँदै ७ देखि ८ प्रतिशत को विकास दरलाई निरन्तरता दिँदै संसारको लागि उदाहरणीय बनेको छ । आज भियतनाम र चीनको बोर्डर व्यापारिक मार्ग बनेको छ । भारतले पनि आफ्नो कुटनीतिमा भावुकतालाई परित्याग गर्नु पर्दछ । हाल चीनले लिएको कुटनीतिलाई “वुल्फवारियर डिप्लोम्यासी” भनिने गरिन्छ । अर्थात् चीनले कुटनीतिमा दबाब सृजना गर्न र आफ्नो शिकारलाई जुनसुकै तिरिकाले प्राप्त गर्न अभिप्रेरित हुन्छ । भारतले चीनको कमजोर कडीमा प्रहार गर्नु पर्दछ । चिनियाँ गठबन्धनमा अब्बल राष्ट्रहरुको सहभागिता छैन् । पाकिस्तान र उत्तर कोरिया र इरान जस्ता मुलुकहरुबाट चीनलाई प्रचुर लाभ हुँदैन् । तर भारतको गठबन्धन अमेरिका, अष्ट्रेलिया, जापान , युरोपेलीयुनियन, साउदी अरेबिया र इजरायल जस्ता समृद्ध देशहरुसँग छ । अर्थात् कुटनीतिक रुपमा भारतले चीनलाई जुन बेला पनि दबाब राख्न सक्दछ ।
कुटनीतिमा स्थायी मित्र र स्थायी शत्रु भने हुँदैन् । शीत युद्धताका अमेरिका र पाकिस्तानको सम्बन्ध सघन थियो । शीतयुद्ध पछी सम्बन्धमा मधुरता रहेन । अमेरिकामा नाइनइलेभेनको घटना पछी फेरी अमेरिका र पाकिस्तानको सम्बन्ध बलियो भयो । यस अर्थमा के भन्न सकिन्छ भने भारत र चीनको आर्थिक सामिप्यताले कटुतालाई न्यूनीकरण गर्न सक्दछ । कुटनीतिको कसरतमा मोदी र सी जिनपिङ् अब्बल खेलाडीहरु हुन् । ६ वर्षमा १८ पटक भेटघाट गरेर पनि सम्बन्धलाई सरलीकरण नगर्न सक्नु आफैंमा यक्ष प्रश्न हो । तर यो भेटघाटलाई निरन्तरता दिएमा मात्रै आउने दशकमा संसारले एसियाको नेतृत्व कर्ता भारतलाई रोज्न सक्दछ । भारत र चीनको बीचको मानसिकताको पनि लडाई हो । भारतका पुर्व राजदुत श्याम शरणले एउटा चहकिलो र गहकिलो आलेख लेखेका छन् । एक शीर्षक “नेगेटिभ भिउ अफ चाइना अन इण्डिया” मा श्याम शरणले चिनियाँ मानसिकतालाई प्रस्ट गरेका छन् । तर भारत र चीनका बीच कटुता ल्याउन पश्चिमा शक्तिहरुको पनि उल्लेख्य भूमिका रहेको छ । मेह्बुबानीले अर्को पुस्तक “हाज वेस्ट लस्ट” मा के भनेका छन् कि अमेरिका र युरोप आर्थिक र राजनीति रुपले कमजोर भए तापनि बौद्धिक रुपले एसिया माथि शासन गर्ने सामर्थ्य राख्दछ । यस अर्थमा पश्चिमा भास्य र आख्यान चीन र भारतको बीच कटुता बढाउन कुनै न कुनै रुपमा भूमिका खेल्ने छ ।
चीनले भारतसँग गरेको सन् १९९३ को सन्धीलाई प्रत्याभूत गर्न इमान्दार हुनु पर्दछ । वर्तमान अवस्थामा चिनियाँनीति र चीनप्रतिको भावनामा ह्रास भइरहेको छ । भारतका २३ प्रतिशत जनसंख्याले मात्र चीन प्रति विश्वासको संकेत गरेका छन् । युरोप र अमेरिकामा प्रतिशतकम देखिन्छ । वर्तमान परिवेशमा भारत र चीनको बीच तनाव कम भएमा मात्र दक्षिण एसिया र पूर्वीय एसिया विकासको म्याराथुनमा सहभागी हुन सक्दछ । यस अर्थमा चीनले अहिलेको भू–राजनीतिक आवाजलाई बुझ्दै रणनीति लिनु पर्ने देखिन्छछ । तदनुरूप आफ्नो बजार र सेवाग्राहीको सद्भावलाई प्राप्त गर्न लचिलो हुनु पर्दछ । आउने दशकमा नै भारत संसारको सबभन्दा अधिक जनसंख्या भएको देश हुने छ । अधिकजन संख्या २९ वर्षको मात्र भएको, मध्यम वर्षीयको संख्या अधिक भएकोले चीनको आर्थिक विकास दर भारतको सद्भावमा नै निर्भर रहेको देखिन्छ ।