धनकुटा, २९ मंसिर । नेपाली काँग्रेसले देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहँदा धनकुटामा पनि चारतारे झण्डासहितको प्रदर्शन भएको छ । प्रदर्शनमा काँग्रेस सहमहामन्त्री सुनिलबहादुर थापा पनि थिए ।
सरकराविरुद्धको नारा लाग्दै बढेको प्रदर्शनमा काँग्रेसको झण्डामुनी हालै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवेश गरेका थापाको सहभागितामा धेरैको ध्यान गएको थियो । प्रदर्शनपछिको सभालाई सम्बोधन समेत गरेका थापाले सरकार असफल भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै असफल भन्दै कम्युनिस्ट सर्वसत्तावादविरुद्ध एकजुट हुन आग्रह गरे ।
थापाले संविधान नै संकटमा पार्ने काम भएको बताए । उनले भने,‘कम्युनिस्टको सर्वसत्तावादले संविधान नै संकटमा परेको छ ।’ देश र संविधानलाई संकटबाट जोगाउन काँग्रेसको नेतृत्व अनिवार्य भएको बताए । हिंसा अन्त्यका लाग काँग्रेसले कम्युनिस्टसँग सहकार्य गरेको स्मरण गराउँदै अब देशमा काँग्रेसको नेतृत्व अनिवार्य भएको बताए ।
कार्यक्रममा धनकुटा काँग्रेसका सभापति मनोहर नारायण श्रेष्ठलगायतले पनि सम्बोधन गरेका थिए ।