Logo

सामाजिक सुरक्षा कोषमा बैंकहरू आकर्षित भएनन्



काठमाडौं, मंसिर ३० । दुई वर्षअघि औपचारिक रूपमा थालिएको सामाजिक सुरक्षा (सासु) कोषमा बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता अझै उत्साहजनक छैन । निजीक्षेत्रका कामदाहरूलाई पनि पेन्सन उपलब्ध गराउने अवधारणासहित शुरू गरिएको सासु कोषमा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त संस्थाहरू न्यून संख्यामा मात्र सूचीकृत भएका छन् ।

कोषको तथ्यांकअनुसार हालसम्म २७ वाणिज्य बैंकमध्ये आठओटा वाणिज्य बैंकमात्र दर्ता भएका छन् । प्रभु, लक्ष्मी, प्राइम कमर्शियल, मेगा, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीर्सी) र ग्लोबल आईएमईलगायत बैंक सूचीकृत भएका छन् । दर्ता भएका बैंकका सबै श्रमिक अर्थात् योगदानकर्ताको नाम पनि सूचीकृत गरिएको छैन । एउटै बैंकमा सयौं कर्मचारी भए पनि सबै बैंकबाट जम्मा ९९ जना श्रमिकको नाम मात्र सूचीकृत छ ।

कोषमा १९ विकास बैंकमध्ये ६ ओटामात्र सूचीकृत भएका छन् । त्यसमा पनि योगदानकर्ता भने अझै सूचीकृत भएका छैनन् । सञ्चालनमा रहेका ७८ लघुवित्तमध्ये २ ओटामात्र कोषमा सूचीकृत भएका छन् । दर्ता लघुवित्तले भने हालसम्म १ सय २४ जना श्रमिकको नाम सूचीकृत गरिसकेको छ ।

कोषमा सूचीकृत सहकारीको संख्या पनि न्यून छ । करीब ३४ हजार सहकारी संस्थामध्ये ४ सय ४५ ओटामात्र दर्ता भएका छन् । सूचीकृत सहकारीबाट १ हजार १२ जना श्रमिकलाई समेटेको कोषले बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्