Logo

ओली-प्रचण्ड विवादले संवैधानिक निकायमा नियुक्ति प्रभावित



काठमाडौं, ३० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादले संवैधानिक परिषदको बैठक प्रभावित भएको छ । आइतबारका लागि तय भएको परिषद बैठकमा गणपूरक संख्या पुगेन । कारण थियो सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थिति ।

देउवाले पार्टीको प्रदर्शन कार्यक्रम भन्दै सहभागिता जनाएनन् । सभामुख सापकोटा पनि गएनन् । जसका कारण परिषद बैठक अगाडि बढ्न सकेन र आजका लागि सारियो ।

संवैधानिक परिषद बैठकमा आज पनि सभामुख सापकोटा अनुपस्थित भए । उनको अनुपस्थितिले बैठक प्रभावित भएको छ । गणपुरक संख्या नपुगेकाले बैठकले कुनै निर्णय लिन नसक्ने अवस्था छ ।

सापकोटा अनुपस्थित हुनुमा नेकपाभित्रको विवाद हो । उनी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । ओली र प्रचण्डबीच अहिले विवाद चलेको छ । पार्टीभित्र एकले अर्कालाई संकटमा पारेर सत्ताको द्वन्द्व चलेको छ ।

संवैधानिक निकायमा नियुक्तिका लागि पनि नेताहरुबीच विवाद छ । विशेषगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन आयोगमा आ-आफ्नो निकटस्थलाई नियुक्ति दिलाउन नेताहरु विवाद गरिरहेका छन् । नेकपाभित्रको विवादको सिधा असर संवैधानिक निकायको नियुक्तिमा देखिएको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता, उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ । हाल उपसभामुख पद रिक्त छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायमा ४५ पदाधिकारी रिक्त भएको अवस्थामा प्रधानमन्त्रीले बैठक डाकेका हुन् । अख्तियारमा रिक्त प्रमुख आयुक्त र दुई आयुक्तको नियुक्ति अगाडि बढाउने प्रधानमन्त्रीको तयारीका रुपमा परिषदको बैठक प्रक्रियालाई हेरिएको छ ।

संवैधानिक निकायमा अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्त, निर्वाचन आयोगमा दुई आयुक्त पद रिक्त छ । राष्ट्रिय महिला आयोगमा अध्यक्षसहित ५, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्षसहित ५ पद, समावेशी आयोगमा अध्यक्षसहित ४ पद, आदिवासी तथा जनजाति आयोगमा अध्यक्षसहित ५ पद, मधेशी, थारु र मुस्लिम आयोगमा ४ ४ आयुक्त र राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्षसहित ५ पद रिक्त छन् ।



प्रतिक्रिया दिनुहोस्