Logo

अमेरिकामा खोप लगाउन सुरु



काठमाडौं, मंसिर ३० । फाइजर र जर्मन साझेदार बायोएनटेकले शुक्रबार अबेर आपतकालीन प्रयोग अनुमति प्राप्त गरेपछि सोमबार अमेरिकामा खोप अभियान सुरु भएको छ। कार्गो कम्पनी फेडएक्स र युपिएसले कोरोना खोप भरिएका कार्गो जहाज र ट्रकहरू अमेरिकाका विभिन्न राज्यमा पुर्‍याएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ।

दैनिक झन्डै २४ सय अमेरिकीको ज्यान लिइरहेको कोरोना महामारी रोक्न खोप अभियान सुरु गरिएको हो। सुरुमा खोप उत्पादन गर्ने कम्पनी नजिकैका केन्द्रमा लगाउन सुरु गरिने बताइएको छ। केन्टुकी राज्यका गभर्नर एन्डी वेसियरले सुरुमा लुइसभिले र मेम्फिसमा खोप वितरण गरिने बताए। पहिलो चरणमा स्वास्थ्यकर्मी र केयर होमका वृद्धवृद्धालाई खोप दिने बताइएको छ। अमेरिकाले मार्चसम्म १० करोड नागरिक अर्थात् ३० प्रतिशत जनसंख्यालाई खोप दिने तयारी गरेको छ। अमेरिकामा कोरोनाका कारण भन्डै ३ लाख मानिसको मृत्यु भइसकेको छ।

न्युयोर्क टाइम्सका अनुसार ह्वाइट हाउसका उच्च पदस्थ कर्मचारीलाई सुरुमा खोप दिने योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अबेर पछि सारेका हुन्। सो पत्रिकाले सबैभन्दा बढी जोखिममा रहेका वर्गलाई खोप दिनुको साटो ट्रम्प प्रशासनले ह्वाइट हाउसका उच्च कर्मचारीलाई खोप उपलब्ध गराउन लागेको समाचार प्रकाशित गरेको थियो। ‘ह्वाइट हाउसमा कार्यरतले आवश्यक भएको खण्डमा केही समयपछि खोप पाउनेछन्,’ राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा लेखेका छन्।

न्युयोर्कको एक अस्पतालको सघन उपचार कक्षमा कार्यरत नर्स सान्द्रा लिन्डसे फाइजर र बायोएनटेकद्वारा संयुक्त रूपमा विकास गरिएको कोरोना खोप लगाउने पहिलो अमेरिकी स्वास्थ्यकर्मी बनेको रोयटर्सले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्