Logo

अध्यादेश ल्याएका ओली नेकपा बैठकमा जालान् ?



काठमाडौं, ३० मंसिर । बुधबार नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक बस्दैछ । यसअघि नै तय भएको बैठकतिर धेरैको ध्यान खिचिएको छ । कारण हो यो बैठक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादशे ल्याएपछि बस्न लागेको हो । अध्यादेशप्रति सत्तारुढ दलकै बहुमत सचिवालय सदस्यहरुको विरोध रहेको छ ।

अध्यादेशप्रति नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले विरोध जनाइसकेका छन् । उनीहरु आजै खुमलटारमा जम्मा भएर कडाईका साथ जाने तयारीमा छन् ।

भोलिको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली सहभागी हुने हुन् या होइनन् चासोको विषय बनेको छ । अध्यादेश ल्याएका ओलीविरुद्ध बहुमत स्थायी कमिटी सदस्यहरु विरोधमा उत्रने निश्चित छ । यसको सामना उनले बैठकमा पुगेर गर्ने हुन् या होइनन् चासोको विषय छ ।

यसअघि पनि ओली विभिन्न शर्त राखेर बैठकमा सहभागी हुन मानेनन् । निकै दबाबपछि मात्र उनी बैठकमा पुगेका थिए । यसपटक पनि ओली सहभागी हुने सम्भावना न्यून छ । बरु उनीमाथि पार्टी दुर्घटनामा लान खोजेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्