Logo

३ महीनामा जीवन बीमाको १२ अर्बभन्दा बढी दाबी भुक्तानी



काठमाडौं, पुस १ । कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई १२ अर्ब ३० करोड १६ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । बीमा अवधि सकिएको, मृत्यु दाबी र बीमा पोलिसीको सुविधाबापत उक्त रकम दाबी भुक्तानी भएको सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको प्रथम त्रैमासिक वित्तीय विवरणले देखाएको हो ।

हाल कोरोनाको त्रासका कारण अधिकांश क्षेत्रका सेवा अवरुद्ध भएका छन् । तर, जीवन बीमा कम्पनीले भने कठिन परिस्थितिमा पनि आफ्नो सेवा चुस्त रूपमा प्रवाह गरेका छन् ।

जीवन बीमामा विशेषगरी बीमा अवधि सकिएको र मृत्यु दाबी बापतको भुक्तानी बढी हुन्छ । यस्तै, कतिपय बीमा पोलिसीमा अवधि नसकिँदै पनि २–३ वर्षको अन्तरमा निश्चत दाबी रकम भुक्तानीको सुविधा हुन्छ ।

प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ( मनोजकुमार भट्टराईले कोरोना त्रासका बीच पनि दाबी भुक्तानीमा कुनै समस्या आउन नदिइएको बताए । पूर्णरूपमा बन्दाबन्दी हुँदा समेत प्रविधिको प्रयोग गरेर दाबी भुक्तानी दिइएको उनको भनाइ छ । ‘बीमा अवधि सकिएको र प्रडक्ट अनुसार हुने भुक्तानी सिस्टमले नै गर्छ । त्यसमा कागजपत्र जुटाउनु पर्दैन । कागजपत्र आवश्यक हुनाले मृत्यु दाबी भने केही झन्झटिलो हुन्छ,’ उनले भने, ‘हामीले मृत्यु दाबी भुक्तानी पनि सहज ढंगले गर्दै आएका छौं । समग्रमा कोरोनाको त्रासका बीच पनि दाबी भुक्तानीमा समस्या हुन दिएका छैनौं ।’

विशेषगरी यो अवधिमा कम्पनीहरूले अनलाइन माध्यमबाट दाबी भुक्तानी दिने गरेका छन् । ई–सेवा, फोनपे जस्ता विद्युतीय भुक्तानी प्रदायकको माध्यमबाट दाबी भुक्तानी गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्