Logo

केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्ने



काठमाडौं, पुस २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्कर्षमा पुगेको आन्तरिक विवाद मत्थर बनेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुईबुँदे सहमतिपछि सहमतिबाटै स्थायी कमिटीको अर्को बैठक पुस ५ गतेका लागि तय गरिएको छ । त्यस अवधिमा दुई अध्यक्षका प्रस्तावका ठाउँमा सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यसमेत गरिने भएको छ ।

अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार संवैधानिक परिषद् संशोधनसम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशन बोलाइपाऊँ भनी राष्ट्रपति कार्यालयमा बुझाउन लगिएको आवेदन प्रक्रिया अगाडि नबढाउने सहमति भएको छ ।अध्यक्ष दाहालको प्रस्ताव फिर्ता लिने विषयमा छलफल भए पनि स्थायी कमिटीको अर्को बैठकअगावै सहमतिका लागि आवश्यक गृहकार्य गरिने सहमति भएको नेता नेम्वाङले बताए ।

पार्टीको सुदृढ एकताका लागि सकारात्मक आधार तयार भएको र यसकै आधारमा पार्टीभित्रको आन्तरिक समस्या समाधान गर्न सकिने उनको भनाई छ ।उता कार्यकारी अध्यक्ष दाहालको सचिवालयले अध्यक्षद्वयबीच सरकारद्वारा ल्याइएको अध्यादेश र संसद्को विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता गर्ने सहमति मात्र भएको स्पष्ट पारेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले अर्को बैठक पुस ५ का लागि तय गरेको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्