Logo

अमेरिकाले नेपाली उत्पादकहरूको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने



काठमाडौं, पुस ३ । संयुक्त राज्य अमेरिकाले नेपाललाई दिएको व्यापार सहुलियत उपयोगका लागि प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ । नेपाल–अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टीफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको बैठकमा यस्तो सहमति भएको हो । नेपाली उत्पादकहरूको क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग उपलब्ध गराउन अमेरिका सहमत भएको हो । सन् २०२५ सम्म नेपाललाई दिइएको व्यापार सहुलियत उपयोगका लागि उत्पादकको दक्षता बढाउन अमेरिकाले आग्रह पनि गरेको छ ।

अमेरिकाले नेपालका ७७ ओटा उत्पादनमा दिएको कोटारहित शून्य भन्सार सहुलियत उपयोगका लागि उत्पादन क्षमता बढाउन आग्रह गरेको हो । दुवै देश एकअर्काका उत्पादनको बजार पहुँचमा आपसी चासोको विषयमा सहकार्यलाई निरन्तरता दिन पनि सहमत भएका छन् ।

अमेरिकाले बौद्धिक सम्पत्ति संरक्षण र कार्यान्वयनमा भएको सुधार प्रयासमा सहकार्यको प्रतिबद्धता व्यक्त गरेको छ । नीति र कानूनी सुधारमार्पmत नवप्रवर्तन र लगानी प्रोत्साहनमा आप्mनो संलग्नता बढाउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्याल र दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी सहायक प्रतिनिधि क्रिस्टोफर विल्सनले भर्चुअल बैठकको नेतृत्व गरेका थिए । सचिव अर्यालले अमेरिकी अधिकारीहरूलाई नेपालले लगानीको वातावरण सुधार्न नीति, प्रक्रिया र संस्थागत सुधार गरेको जानकारी दिँदै लगानी विस्तारको आग्रह गरे । अमेरिकी अधिकारीहरूले आफ्नो देशका सम्भावित लगानीकर्तासँग सम्बन्ध बढाउन सकिने बताएका छन् ।

दुवै देशका व्यापार, वित्त, श्रमलगायत निकायका अधिकारीहरू सहभागी बैठकमा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल व्यापार र इकमर्शका विषयमा छलफल भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्