Logo

कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य



काठमाडौं, पुस ३ । केही समयअघि कोरोना बीमामा दाबी भुक्तानी ढिलाइ भयो भनेर ग्राहकस्तरबाट पनि बीमा कम्पनीहरूको नकारात्मक टिकाटिप्पणी भयो । अहिले बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्तरूपमा अगाडि बढाएका छन् । तर, अहिले केही ग्राहकले पनि कोरोना बीमा प्रयोग गरेर फाइदा लिन खोजेको पाइएको छ । बीमा समितिको बिहीवारसम्मको तथ्यांकअनुसार कोरोना बीमामा परेको कुल आवेदनमध्ये ५० ओटा ‘नो क्लेम’ अर्थात् दाबीका लागि अयोग्य भएको पाइएको छ । बीमितबाट दोहोरो रूपमा आएका ५० ओटा आवेदन दाबीका लागि योग्य नभएको हो । बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले दोहोरो आएका आवेदन ‘नो क्लेम’मा राखिएको बताए । यद्यपि, दोहोरो मागदाबी गर्ने बीमितले भने एउटा दाबी भने पाउने उनले जानकारी दिए ।

बीमाको सिद्धान्तअनुसार एउटै बीमामा दोहोरो दाबी भुक्तानी गर्न मिल्दैन । तर, कतिपय अवस्थामा एउटै व्यक्तिको दुईभन्दा बढी बीमा कम्पनीबाट बीमा भएको छ । त्यस्तो व्यक्ति कोरोना संक्रमित हुँदा दुई ठाउँबाटै दाबी पेश गरेका हुन् । तर, बीमितले त्यसरी दोहोरो रूपमा मागदाबी गर्न नहुने बीमा कम्पनीका साथै समितिको भनाइ छ । समितिको उक्त तथ्यांकमा नक्कली कागजपत्र भएका कारण पनि नो क्लेममा राखिएको उल्लेख छ । कोरोना बीमामा प्रतीक्षा अवधिभन्दा अगाडि नै बीमित कोरोना संक्रमित भएमा दाबी पाउँदैनन् । यस्तै, दोहोरो बीमा भएपछि एउटा मात्र भुक्तानी गरिने व्यवस्था छ ।

तथ्यांकअनुसार बिहीवारसम्म २३ हजार ५६ ओटा दाबी आवेदन आएका छन् । तीमध्ये १२ हजार १९३ ओटाको दाबी भुक्तानी भइसकेको छ । रकमका आधारमा हालसम्म रू १ अर्ब १९ करोड ७ लाख दाबी भुक्तानी भएको समितिले बताएको छ । ५ हजार ६०६ ओटा आवेदन स्वास्थ्य मन्त्रालयमा प्रमाणीकरणका लागि पठाइएको छ । तीमध्ये ३ हजार ५२ ओटा आवेदन स्वीकृति भएर आएका छन् । अन्य आवेदन भने स्वीकृतिका लागि पाइपलाइनमा छन् । यस्तै, १ हजार ११ ओटा आवेदन मन्त्रालयमा स्वीकृतिका लागि पठाउन तयार भएको छ भने ३ हजार ५६६ ओटा आवेदन प्रमाणीकरणको चरणमा छन् । यसका अलावा १ हजार ५७१ ओटा आवेदन कागजपत्र पूरा नभएपछि कम्पनीहरूलाई नै फिर्ता गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्