Logo

नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव



काठमाडौं, ३ पौष । भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले नेपाललाई चीनबाट सावधान रहन सुझाव दिएका छन् । उनले श्रीलंकाबाट पाठ सिक्न भन्दै चीनबाट सावधानी अपनाउन सुझाव दिएका हुन् ।

‘नेपाल अन्तर्राष्ट्रिय मामलामा आफ्ना अभ्यासहरु छनोट गर्न स्वतन्त्र छ तर यस क्षेत्रका केही देशहरुसँग श्रीलंकालगायतले सम्झौतामा हस्ताक्षर गरेबाट पाठ सिक्नुपर्छ र सावधानी अपनाउनुपर्छ,’ जनरल रावतले सेन्टर फर ल्यान्ड वारफेयर स्डडिज र नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेशन एन्ड इन्गेजमेन्टको वार्षिक डाइलगलाई सम्बोधन गर्दै भने । रावतले नेपालले चीनलगायत केही देशहरुका लागि स्वतन्त्र विदेश नीति अन्र्तगत खुल्ला भइरहेको भन्दै भारत गम्भीर भएको सन्देश पनि दिए ।

‘स्वतन्त्र विदेश नीतिको आधारमा वर्तमान युगमा नेपाल चीनलगायत अन्य देशहरुका लागि खुलिरहेको छ,’ रावतले भनेका छन् । उनले नेपालसँगको शताब्दीऔं पुरानो प्रगाढ सम्बन्धको पनि उल्लेख गर्दै भारत पछिल्लो विकसित घटनाक्रमप्रति गम्भीर भएको सन्देश दिए । उनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

भारतले लिपुलेक हुँदै सडकमार्ग खोलेपछि नेपालले त्यसमा आपत्ती जनाउँदै नयाँ नक्शा सार्वजनिक गरेपछि उत्पन्न परिस्थितिपछि जनरल रावतको भनाई बाहिर आएको हो । श्रीलंका चीनको ऋणमा डुबेको विषय अहिले चर्चामा रहेको छ । चीनले शुरु गरेको पूर्वाधार आयोजनाले कतिपय एशिया र अफ्रिकाका देशहरुलाई ऋणमा डुबाएको विषय सार्वजनिक भइरहेको छ । नेपालमा चीनले रणनीतिक सडकलगायत पूर्वाधार निर्माणमा सक्रियता बढाएकोमा नयाँ दिल्लीले आफ्नो स्वार्थविरुद्ध देखिरहेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

भारतका निवर्तमान स्थल सेनाध्यक्ष समेत रहेका जनरल रावत त्यहाँको तीनवटै सेनालाई हेर्ने गरी मोदी सरकारले चिफ अफ डिफेन्स स्टाफको दरबन्दी खडा गरी नियुक्त गरिएका पहिलो सैनिक अधिकृत हुन् । भारतको सुरक्षा मामला हेर्ने महत्वपूर्ण भूमिका दिइएका छन् । उनले चीनको नामै तोकेर नेपाललाई सावधानी अपनाउन भन्नुलाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्