Logo

घेराबन्दी तोड्दै ओली



काठमाडौं, ४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पार्टीभित्रबाट भएको घेराबन्दी तोड्न खाजिरहेका छन् । पार्टी सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य ओलीको विपक्षमा उभिएर गम्भीर आरोपसहित राजनीति प्रतिवेदन लिएर प्रस्तुत भइरहेका छन् । तर, ओलीले भन्दै आएको आरोपपत्र फिर्ता गराउने सहमति गराउन नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई वाध्य पारेका छन् ।

प्रचण्डलाई ब्याक गराउन ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेशको अस्त्र फाले । त्यो अध्यादेश फिर्ता गर्ने शर्तमा प्रचण्ड राजनीतिक प्रतिवेदन फिर्ता लिन सहमत भएका छन् । तर, प्रतिवेदन फिर्ता भइसकेको छैन ।

ओलीले अध्यादेशलाई अस्त्र बनाएर प्रचण्डको सत्ता संकटमा पार्ने रणनीति विफल पारिदिएका छन् । साथै सचिवालयका बहुमत सदस्यहरुमध्ये केहीलाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।

प्रचण्ड र माधव नेपाल पक्षको छुट्टै भेला चल्न थाल्दा ओलीले उक्त समूहका बामदेव गौतमलाई साथमा लिन खोजिरहेको संकेत मिलेको छ । गौतम कुनै गुटको भेलामा नजाने अडान लिएर बसेका छन् । तर, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहित आफू रहेको समूहको बैठकमा जाने स्पष्ट पारेका छन् । गौतमको यो कदममा आशंका गर्न थालिएको छ ।

विगतमा पनि गौतम समूह छाडेर ओलीसँग नजिक भएका थिए । यसपटक पनि उनी ओलीको आश्वासनमा आकर्षित हुनसक्ने देखिदैछ । उनलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव छ । गौतमको साथ पाएमा ओली सचिवालयमा बहुमतमा पुग्नेछन् ।

ओलीले प्रचण्डसँग राजनीतिक लेनदेनसमेत गरेर कुरा मिलाउन खोजेका छन् । त्यसका लागि उनी खुमलटार पुगेका छन् । यसअघि गौतमलाई साथमा ल्याउन भैंसेपाटीस्थित निवासमै पुगेर डिनर खाएर फर्किएका थिए । यसपटक प्रचण्डसँग लन्च गर्ने गरी पुगेका छन् । ओलीले पार्टीभित्रको घेराबन्दीलाई यसरी नै रणनीति अगाडि सारेर तोड्न कोशिश गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्