काठमाडौं, ४ पौष । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाटै कमै निस्कन्छन् । तर, आज उनी विहान बालुवाटारबाट निस्किएर दिउँसो फर्किएर फेरि अपरान्ह निस्किएका थिए । ओलीले आज एकै दिन महत्वपूर्ण भेटवार्ता गरे ।
प्रधानमन्त्री निवास बालुवाटारबाट विहान निस्किएर उनी सिधै खुमलटार पुगेका थिए । त्यहाँ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्ला एक्लै वार्ता गरे । उनले पार्टी विवाद र विगतको सहमति कार्यान्वयनका बारे छलफल गरेका थिए । तर, कुनै सहमति ननिस्किएको बुझिएको छ ।
ओली खुमलटारबाट मन्त्री क्वार्टर पुल्चोक पुगे । त्यहाँ उनले नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादलसँग छुट्टै छलफल गरे । बादल पछिल्लो समय ओलीको साथमा छन् । त्यसपछि उनले आफूनिकट केही मन्त्रीहरुलाई एकै ठाउँमा भेटे ।
ओली बालुवाटार पुगेर पुनः राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगे । उनको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण मानिएको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश मन्त्रिपरिषदको बैठबाट सिफारिशको निर्णय भई राष्ट्रपतिले जारी गरिसकेको अवस्था छ । त्यसलाई फिर्ता गर्न ओली सहमत भएपनि कार्यान्वयन भएको छैन ।
प्रचण्डसँगको भेटपछि निकटस्थ मन्त्रीहरुलाई भेटेर ओलीले राष्ट्रपतिसँग पनि भेट्नुलाई अध्यादेशसँग सम्बन्धित मानिएको छ । तर, अझै अध्यादेश फिर्ता गर्न ओली अगाडि बढिसकेका छैनन् ।