Logo

दुई कट्ठा जमिनले फेरियो जीविकोपार्जन



सिरहा, पुस ५ । माटो काट्ने, माटो बोक्ने कामलाई पेसाका रूपमा लिँदै आएका मुसहर समुदाय पछिल्लो समय खेतीपातीमा रमाउन थालेका छन् । उनीहरूले अर्काको खेतमा काम गरे पनि खेतीबाट हुने फाइदा थाहा नभएर खेती किसानीबाट टाढा थिए ।

अहिले भने विभिन्न स्थानीय तहका सरकारले उनीहरूलाई जमिन उपलब्ध गराएपछि अहिले खेतीको रस पाउन थालेका छन् । त्यसमा पनि विभिन्न यन्त्र आएपछि मुसहर समुदायको माटो काट्ने पेसा सङ्कटमा परेको थियो । त्यसपछि उनीहरू अर्काको घर तथा खेतमा मजदुरी गर्ने, माछा मार्ने, जङ्गलबाट दाउरा ल्याएर बेच्ने जस्ता काम गरेर गुजारा गर्थे ।

यसो गर्दा उनीहरू झन् गरिब हुँदै गइरहेका थिए । पछिल्लो समय दलित तथा पिछडिएका समुदायलाई कृषिमा आकर्षित गर्न सरकारले जमिन उपलब्ध गराउन थालेपछि उनीहरू खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

अहिले सिरहा, सप्तरी, उदयपुर, धनुषा, ओखलढु्ङ्गा लगायतका जिल्लामा स्थानीय तहमार्फत खेतीयोग्य जमिन भाडामा लिएर मुसहर समुदायलाई करारमा जमिन दिएर सामूहिक खेती गराउन थालेपछि उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ । स्थानीय सरकारले अरूको खेत भाडामा लिएर मुसहर समुदायलाई दिएका छन् भने राष्ट्रिय कृषक समूह महासङ्घ लगायतका सङ्घ–संस्थाले अन्य सहयोग गरेर मुसहर समुदायलाई कृषिमा अभ्यस्त बनाउन थालेका आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्