काठमाडौं, पुस ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको छ।
कात्तिक २८ को सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न र सामूहिक दस्तावेज लेख्न गरेको ओलीको आग्रहलाई दाहालले अस्वीकार गरेसँग दुवै अध्यक्षबीचको सम्बन्ध झन् बिग्रेको हो।
दुई अध्यक्षबीचको छलफल फलदायी नभएपछि प्रधानमन्त्री ओलीले तीन रणनीति सुरु गरेका छन्। नेकपा उच्च स्रोतका अनुसार पहिलो कदमस्वरुप उनले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई साझा राजनीतिक प्रतिवेदन लेख्न आग्रह गरेका छन्।
दोस्रोमा पूर्वएमालेका तर्फबाट पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पहिलो अध्यक्षका रुपमा अघि सार्ने र तेस्रोमा ओली, दाहाल दुवैका प्रतिवेदनलाई सन्दर्भ सामग्रीको रुपमा स्वीकार गरी दुवै अध्यक्षका तर्फबाट स्थायी कमिटी बैठकमा सामूहिक प्रतिवेदन पेस गर्ने ओलीको योजना छ।
ओलीले थापालाई भेटेरै प्रतिवेदन लेख्न आग्रह गसिसकेका छन्। ओलीले दाहाललाई कात्तिक २८ मा सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्न आग्रह गरेका थिए तर दाहालले अब सकिन्न, त्यो फिर्ता हुँदैन भनेपछि प्रधानमन्त्रीले थापालाई उनकै सरकारी निवास पुगेर साझा प्रतिवेदन लेखी स्थायी कमिटीमा पेस गर्न आग्रह गरेको स्रोतको दाबी छ।
‘प्रधानमन्त्रीले गृहमन्त्रीलाई सबैलाई मान्य हुने प्रतिवेदन लेख्न आग्रह गरेका हुन्। ‘कोही कसैको पक्षमा लाग्नुपर्दैन, तपाईं पनि सचिवालय सदस्य हो, पार्टी एकतालाई कायम राख्ने जिम्मेवारी तपाईंको काँधमा आएको छ’, प्रधानमन्त्रीले थापासँग गरेको आग्रह उद्धृत गर्दै स्रोतले भन्यो।
पूर्वमाओवादी समूहका केही नेतासमेत दुवै अध्यक्षको प्रतिवेदन विस्थापन गरेर साझा प्रतिवेदन ल्याउनुपर्ने पक्षमा रहेको र गौतमलाई अध्यक्ष बनाउँदा खासै विवाद नहुने सुझाव ओलीलाई दिएका कारण ओली पक्षका केही नेता यसको गृहकार्यमा जुटेको स्रोतको दाबी रहेको आजको नागरिक दैनिकमा खवर छ ।