Logo

ओलीमाथि प्रचण्ड-माधव पक्षद्वारा कारबाहीको तयारी



काठमाडौं, ५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक डाकी संसद बिघटनको सिफारिश गरेलगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र कम्पन आएको छ । आज स्थायी कमिटी बैठक अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति बनाउने प्रयास भएपछि दुवै नेता आक्रामक तरिकाले बढेका हुन् ।

ओलीले प्रचण्डलाई सचिवालय हुँदै स्थायी कमिटीमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता गर्न आग्रह गर्दा कुरा मिल्न सकेन । ओलीले पनि सहमति बमोजिम संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन मानेनन् । त्यसपछि प्रधानमन्त्री ओली नयाँ रणनीतिका साथ बढ्ने निष्कर्षमा पुगे । उनले आज विहानै मन्त्रिपरिषद बैठक डाकेर संसद बिघटनको सिफारिश गरे ।

ओलीले संसद बिघटनको सिफारिश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन हुन बाँकी छ । त्यस अगावै निर्णयबाट फिर्ता हुन दबाब सृजना गरिएको छ । नेकपा अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । ओलीनिकट अन्य नेतामार्फत् भएपनि ब्याक गराउने प्रयास भएको छ ।

ओली निर्णयबाट ब्याक नभए पार्टी स्थायी कमिटी बसेर कारबाहीको तयारी भएको छ । उनलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउने र अध्यक्षबाट हटाउने सम्मको निर्णयको तयारी भएको हो । योसँगै नेकपाभित्र दुर्घटनाको खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्