Logo

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर



टिकापुर, ५ पुस । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी थिए । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनले एकाबिहानै अस्पताल पुराइन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । “बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै कमजोर भएको छ”, सन्ध्याले भनिन्, “चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।”

एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेका थिए। “गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन”, सन्ध्याले भनिन्, “सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त सपनामात्र भएको छ ।”

टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्नुहुन्छ । शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । “म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्”, रुपेशले भने, “यसपटक एउटा सिरक किनौँला भनेको किन्न सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।”

रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने टन्न कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरेको छ । “आगो बालेर तापौँ भने पनि दाउरा पाइँदैन”, रुपेशकी श्रीमती मनसराले भनिन्, “सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ, एक सातायता जाडो निकै बढेको छ ।”

मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ । शिवनगरका रामेश्वर चौधरी चिसो बढेपछि एक सातादेखि काममा जान सकेका छैनन् । डकर्मी काम गर्ने रामेश्वरको घर उनले काम नगरे चल्दैन । “चिसोमा काम गर्न कठिन हुन्छ, केही दिन काममा नजाँदा घरमा भएको सबै अन्न सकियो, ओहो हामी गरिबलाई जाडोमा पनि समस्या, गर्मीमा पनि समस्या । बिरामी भए पनि आफ्नो र परिवारको पेट पाल्न काम गर्नैपर्ने”, रामेश्वरले भने, “चिसो बढेपछि शिविरका अधिकांशमा रुघाखोकी, ज्वरोजस्ता समस्या शुरु भएका छन् । एकातिर कोरोना भाइरस सङ्क्रमणको डर पनि बढेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्