Logo

ओली र प्रचण्डमध्ये कस्को जीत ?



काठमाडौं, ५ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सत्ता संघर्षले यो प्रतिनिधिसभालाई मृत्युको मुखमा पुर्याएको छ । प्रधानमन्त्री ओलीले संसद बिघटनको सिफारिश गरेका छन् । अब राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई अनुमोदन गरेमा देश नयाँ कोर्समा जानसक्छ । मध्यावधि चुनावको घोषणासँगै अदालती लडाईँ पनि चल्न सक्छ ।

आखिर प्रधानमन्त्री ओलीले बहुमत प्राप्त सरकार हुँदाहुँदै किन कठोर कदम चाले ? उनले पार्टीभित्रको निरन्तरको घेराबन्दी तोड्न नसकेपछि संसद नै बिघटन गर्ने कदम चाल्ने निर्णयमा पुगे । कुनै हालतमा राजीनामा नदिने बरु कठोर कदम चाल्ने ओलीले बारम्बार चेतावनी दिदै आएका थिए । जस्तोसुकै जोखिम मोल्न तयार हुने ओलीका लागि यो स्वाभाविक जस्तै लाग्न थालिसकेको थियो ।

नेपालको इतिहासमै पहिलोपटक दुई अध्यक्ष रहेको दल बनाएर ओली र प्रचण्डले धेरैलाई आश्चर्यमा पारेका थिए । कम्युनिस्ट नाममा यी दुईको एकीकरणमा कुनै आन्तरिक या बाह्य स्वार्थले भूमिका खेलेको खुल्दै पनि गएको थियो । वास्तवमा ओली प्रचण्डका कटु आलोचक थिए । उनी प्रचण्डले नेतृत्व लिएको दश वर्ष लामो सशस्त्र जनयुद्धको सबैभन्दा बढी आलोचना गर्थे ।

ओलीले प्रचण्डलाई नेकपा दल बनाएर एकतामा त ल्याए तर उनको राजनीतिक इतिहास नै समाप्त पार्न लागे । प्रचण्डलाई सत्ताबाट टाढा बनाउँदै लाने र सरकारमा उनको प्रभाव निकै कमजोर पार्ने गर्न थालेका छन् । प्रचण्ड आफ्नो मुख्य भुमिका रहेको गणतन्त्रमा ओली हर्ताकर्ता भएको रुचाइरहेका थिएनन् । यसले यी दुईबीच चरम द्वन्द्व चल्यो ।

ओलीले प्रचण्डमाथि एकपछि अर्को प्रहार गर्दै कमजोर बनाए । प्रचण्ड ओलीको सत्ता ढाल्न सक्रिय भइरहे । पूर्व एमालेभित्र विभाजन ल्याउन सके । तर, ओलीले पनि पूर्व माओवादीभित्र विभाजन ल्याए । यसरी एकले अर्कामाथि निरन्तर प्रहार गरिरहे ।

ओलीले संसद बिघटनको सिफारिश गरेका छन् तर राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई अनुमोदन गर्न बाँकी छ । बिघटन भएमा अदालतमा यो विषय प्रवेश हुनसक्छ । तर, संसद बिघटनको बाटोमा देश बढेमा ओली सत्तामा रहन्छन् । त्यसपछि उनले विरोधीलाई ठेगान लगाउन सक्छन् । विशेषगरी प्रचण्डमाथि उनको प्रहार केन्द्रित हुनसक्छ ।

ओली संसद बिघटनको निर्णयबाट पछि हट्न वाध्य भएमा अवस्था फरक हुनसक्छ । उनी सत्ता छाड्ने नैतिक संकटमा पर्न सक्छन् । यसकारण पनि अहिले ओली र प्रचण्डबीचको द्वन्द्वमा कस्को जीत ? भन्ने अवस्था बनिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्