Logo

नेकपा फुटको घोषणा हुन मात्र बाँकी, सुर्य चिन्ह कस्को ?



काठमाडौं, ५ पौष । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कारबाहीको सिफारिशलाई स्थायी कमिटीको बहुमत सदस्यले अनुमोदन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी फुटेको घोषणा हुनमात्र बाँकीको अवस्थामा छ । आज प्रधानमन्त्री निवास बालुवाटारमै ओलविरोधी समूहले कारबाहीको सिफारिश गरेका हुन् ।

अब केन्द्रीय कमिटीमा लगेर त्यसको टुंगो लगाइने तय भएको छ । मङ्गलबार नै केन्द्रीय कमिटी डाकिएको छ ।

ओलीविरोधी पक्षले आजै विहान प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर, त्यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक डाकेर संसद बिघटनको सिफारिश गरे जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिन् ।

ओलीको यो कदमप्रति नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित बहुमत सचिवालय सदस्यहरुले विरोध गरेका छन् । उनीमाथि कारबाहीको सिफारिश गर्नेमा बहुमत स्थायी कमिटी सदस्य छन् ।

अध्यक्षमाथि नै कारबाहीको सिफारिश भएको छ । बहुमत स्थायी कमिटी सदस्यहरु ओलीको विपक्षमा रहेकाले त्यो अनुमोदन हुने निश्चितप्रायः छ । अब ओलीले त्यसविरुद्ध कस्तो कदम चाल्ने हुन् ? चासोको विषय बनेको छ ।

आक्रामक शैलीमा प्रस्तुत भएका ओलीले आफ्ना विरोधीहरुलाई समेत कारबाही गर्ने तयारी गरेको बुझिएको छ । पार्टी अध्यक्षका रुपमा उनले पनि कारबाहीको निर्णय अगाडि बढाउने तयारी गरेका छन् । योसँगै उनले अध्यादेशमार्फत् राजनीतिक दलसम्बन्धी नयाँ कदम चाल्ने संकेत गरिसकेका छन् । आजै निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका छन् ।

नेकपाभित्र दुई अध्यक्षबीचको टकराव सत्ता ढाल्ने र एकले अर्कोमाथि कारबाही गर्ने तहसम्म पुगेपछि पार्टी फुटको घोषणा गर्न मात्र बाँकी छ । तर, पार्टी फुट्न अहिलेको राजनीतिक दलसम्बन्धी व्यवस्थाले दिदैन । त्यसका लागि अध्यादेश ल्याएर ऐन परिवर्तन गर्नुपर्नेहुन्छ । अध्यादेशको बलमा ऐन परिवर्तन गर्दा पनि पार्टीको नाम र चुनाव चिन्हको विषय उठ्छ । विशेषगरी सुर्य चिन्ह कस्ले पाउने भन्ने विषय रहनसक्छ ।

ओलीले चतुर्याईपूर्वक कदमहरु चालिरहेकाले चुनाव चिन्ह पनि आफैले प्राप्त गर्ने गरी अध्यादेश ल्याउन सक्छन् । त्यसका लागि पार्टी कमिटीहरु बिघटन गर्दै निर्णय लिने र अध्यादेश त्यही अनुरुपको बनाउने सम्मको कदम हुनसक्छ । तर, यथास्थितिमा ओली पार्टी कमिटिीहरु देखि बिघटित संसदीय दलमा समेत अल्पमतमा रहेको प्रष्ट भएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्