Logo

ओलीलाई कस्तो कारबाही ?



काठमाडौं, ६ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय भोलिको केन्द्रीय कमिटी बैठकले गर्ने निश्चितप्रायः छ । उनलाई अनुशासनको कारबाहीको सिफारिश आइतबारको स्थायी कमिटी बैठकले गरिसकेको छ । तर, कारबाही कस्तो हुने खुलाइएको छैन ।

ओलीलाई अध्यक्ष र संसदीय दलबाट हटाउने देखि केन्द्रीय कमिटी समेत नरहनेगरी कारबाहीको तयारी भएको बुझिएको छ । उनलाई बहुमत केन्द्रीय सदस्यले कारबाहीको अनुमोदन गर्ने तयारी भएको हो । नेकपा नेता गणेशमान पुनले केन्द्रीय सदस्य समेत नरहने गरी कारबाही हुने खुलाइसकेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले अनुशासनको कारबाहीस्वरुप त्यस्तो निर्णय हुने खुलासा गरेका हुन् ।

ओलीमाथि कारबाहीको जानकारी निर्वाचन आयोगलाई भने दिइसकेको बुझिएको छ । आज नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेल कारबाहीको जानकारी पत्र लिएर निर्वाचन आयोग पुगेका थिए । अनुशासनको कारबाहीबारे आयोगलाई जानकारी दिनुमा अब नेकपामा विभाजनको अवस्थाका रुपमा बुझ्न थालिएको छ । विशेषगरी पार्टीको नाम र सुर्य चिन्हमा दाबी शुरु हुने छ ।

यसैगरी, ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै भेला गरिरहँदा उपाध्यक्ष वामदेव गौतम भने कतै नजाने घोषणा गरेर बसेका छन् । उनले फुटको साक्षी बन्न नसक्ने भन्दै कतै नजाने बताएका हुन् । बादल पनि कुनै भेलामा सहभागी भएका छैनन् ।

भोलि नेकपा केन्द्रीय कमिटी बैठक बसेर ओलीमाथि औपचारिक कारबाहीको घोषणा भएपछि ओली पक्षले पनि त्यस्तै निर्णयको तयारी गरेको छ । नेकपाभित्र एकले अर्कामाथि कारबाहीको सिलसिला शुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्