Logo

केन्द्रीय कमिटी बैठकपछि दुवै पक्ष औपचारिकतातिर जाने



काठमाडौं, पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी निर्वाचनको मिति तोकेपछि पार्टी विभाजनका लागि नेकपाका दुवै समूह अन्तिम तयारीमा जुटेका छन् । यसका लागि मंगलबार दुवै पक्षले केन्द्रीय कमिटीको बैठक डाकेका छन् ।

ओली समूहले मंगलबार बिहान ९ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको छ भने अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको छ । बैठकमा दुवै पक्षले केन्द्रीय सदस्यको हस्ताक्षर संकलन पनि गर्नेछन् ।

ओली समूहबाट पार्टी कार्यालय सचिव ईश्‍वरी रिजालले ९ बजे वालुवाटारमा बैठक बस्ने सूचना दिएका छन् भने अध्यक्ष दाहाल र नेता नेपालसमूहबाट केन्द्रीय कार्यालयका अर्का सचिव श्रीराम ढकालले केन्द्रीय सदस्यहरुलाई बैठकको सूचना पठाएका छन् ।

दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् । दुवै पक्षले केन्द्रीय कमिटी बैठकबाट एकअर्कामाथि कारबाहीको डन्डा चलाउन सक्ने सम्भावना रहेको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्