Logo

कांग्रेस बैठक : देउवा ओलीको पक्षमा, पौडेल संसद विघटनको विपक्षमा !



काठमाडौं, ७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरी मध्यावधि घोषणा गरेको विरोधमा सडक संघर्षमा नजाने पक्षमा देखिएका छन् ।

आज बसेको केन्द्रीय कमिटी बैठकमा सभापति देउवाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । बैठकमा उनले प्रधानमन्त्रीको कदम असंवैधानिक अधिनायक आकांक्षाबाट प्रेरित र सर्वसत्तावाद उन्मुख रहेको उल्लेख गरे । तर यस बिषयमा कांग्रेस सम्यमतापूर्वक अघि बढनुपर्ने भन्दै उनले खुलेर विरोध गरेनन् ।

देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले सडक संघर्षको विपक्षमा विचार राखेसँगै देउवा पक्षको फरक मत देखिएको हो । साउदले मध्यावधि चुनावमा जानुपर्ने भनाई राखेका थिए । उनले चुनाव लोकतान्त्रिक प्रक्रिया अन्र्तगत भएकाले त्यसबाट भाग्न नहुने भन्दै सडकमा भन्दा चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

देउवा निकटका अर्का नेता डा. नारायण खड्काले पनि अदालतको निर्णय पर्खनुपर्ने विचार राखेका थिए । खड्काले सडकमा गइहाल्नुभन्दा अदालतको निर्णय कुरेर बढ्नुपर्ने विचार राखेका थिए ।

तर, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले भने सडक संघर्षमा जानुपर्नेमा जोड दिएका छन् । पौडेल स्वयंले ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भन्दै आन्दोलनमा जानुपर्ने बताए । उनले ओलीको कदमले खतरनाक अवस्था ल्याउनसक्ने औल्याए । पौडेल निकट केन्द्रीय सदस्य महेश आचार्यले पनि आन्दोलनमा जानुपर्ने बताएका थिए । उनले काँग्रेस कसैको पछाडि लागेर नभए आफै आन्दोलनको नेतृत्व गरेर बढ्नुपर्ने बताएका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले गम्भीरता पूर्वक र गहिरो बिश्लेषण गरि कांग्रेसले आवश्यक नीति अवलम्वन गर्ने बताए ।

आजको बैठकमा देउवा र पौडेलसहित केन्द्रीय सदस्यहरु महेश आचार्य, डा. नारायण खड्का र एन.पी. साउदले धारणा राखेका थिए । बैठक भोलि पुस ८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।



प्रतिक्रिया दिनुहोस्