Logo

देशभर बढाइयो सुरक्षा सतर्कता



काठमाडौं, पुस ८ । प्रतिनिधि सभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद र विभाजनका कारण कार्यकर्ताले ‘पक्ष–विपक्ष’मा प्रदर्शन गर्न थालेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष–विपक्षमा सडक प्रदर्शन र विरोध सभा हुन थालेपछि सम्भावित झडप तथा आक्रमणका घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ ।

गृह मन्त्रालयले सुरक्षा चुनौती व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी तीनवटै सुरक्षा निकायका अतिरिक्त ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।

गृह प्रवक्ता एवं सहसचिव चक्रबहादुर बुढाले सम्भावित सुरक्षा चुनौतीको व्यवस्थापन गर्न सुरक्षा सतर्कता बढाइएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको शान्ति सुरक्षा अवस्थाको मूल्याङ्कन गरी सुरक्षाकर्मी परिचालन गर्ने कार्य भइरहेको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा लमजुङ र काभे्रमा पार्टी कार्यालयमा ताला लगाउनुका साथै जनकपुर र पोखरामा प्रदर्शन भएका छन् । काठमाडौँमा नेकपाकै विद्यार्थीले प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार जिल्ला सुरक्षा पदाधिकारीलाई अत्यावश्यक कामबाहेक बिदासमेत नलिन सोमबार नै परिपत्र गरिसकेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले राजनीतिक उतारचढावका कारण नेकपाका कार्यकर्ताबीच द्वन्द्वको अवस्था आउन सक्ने भएकाले सुरक्षा व्यवस्था चुस्त पारिएको बताएका छन् । जिल्लाको सुरक्षा अवस्था र चुनौती हेरी सम्भावित झडप रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ ।

काठमाडौँ उपत्यकालगायत विराटनगर, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बुटवल, सुर्खेत र धनगढी लगायतका मुख्य सहरमा सुरक्षा व्यवस्था बलियो पारिएको प्रहरीले जनाएको छ । नेकपा पार्टी कार्यालय र पदाधिकारीको सुरक्षामा प्रहरी परिचालन गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्