Logo

दाहाल पक्षले निकाल्यो ओली



काठमाडौं, पुस ८ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको छ। उक्त समूहका नेताहरू सम्मिलित केन्द्रीय समिति बैठकले मंगलबार ओलीलाई अनुशासनको कारबाही गर्दै वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

२०७५ जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच एकतापछि महाधिवेशनसम्म दुई अध्यक्षात्मक प्रणाली अवलम्बन गर्ने निर्णय भएको थियो। विधानको त्यही व्यवस्थाअनुसार ओलीलाई अध्यक्षबाट हटाउँदै नेपाललाई अध्यक्ष बनाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी जनभावनाविपरीतको स्वेच्छाचारी कदम चालेकाले पार्टी अन्तरिम विधान २०७५ को धारा ५६ ९क० अनुसार अनुशासनको कारबाहीस्वरूप अध्यक्ष पदबाट हटाउने निर्णय भएको नेकपाले जनाएको छ। यो समूहको निर्णयअनुसार अध्यक्षमा दाहाल र नेपाल रहनेछन्। दुवै नेताले आलोपालो पार्टी बैठकको अध्यक्षता गर्ने गरी विधानको व्यवस्थाअनुसार काम गर्नेछन्। दुवै नेता कार्यकारी हुने र दुवैले आलोपालो बैठकको अध्यक्षता गर्ने स्थायी समिति सदस्य योगेश भट्टराईले बताए।

स्थायी समितिको पुस ५ गतेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो। ४ सय ४७ केन्द्रीय सदस्यमध्ये ३ सय १५ जना उपस्थित बैठकले ओलीलाई सर्वसम्मत रूपमा अध्यक्षबाट हटाउने निर्णय लिएको प्रवक्ता श्रेष्ठको भनाइ छ। दाहाल–नेपाल समूहको दाबीअनुसार यो उपस्थिति एकता गर्दाका बेलाको कुल केन्द्रीय समितिको ७०.४६ प्रतिशत हो।

वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। केन्द्रीय सदस्य प्रभु साहबाहेक अन्य नेताले उक्त प्रस्तावमा विमति राखेनन्।

साहले विगतमा पनि दुई अध्यक्ष हुँदा शक्ति संघर्ष चलेको र पार्टी विभाजनसम्मको अवस्थामा पुगेकाले अब उही अन्तरविरोधको पुनरावृत्ति आउन सक्ने अवस्थालाई अन्त्य गर्नुपर्ने बताएका थिए। दाहालले पार्टी एकताको मर्म, भावना तथा विधानको व्यवस्थाका आधारमा महाधिवेशनसम्म दुई अध्यक्ष रहने बताएका थिए।अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्