Logo

बंगलादेशसँगको व्यापारघाटा वार्षिक रू ४ अर्बले बढ्यो



विराटनगर, पुस ९ । दशक अघिसम्म बंगलादेशसँगको व्यापारमा नेपाल नाफामा थियो । तर, मसुरो दाल र गहुँको निकासी बन्द भएपछि अहिले नेपालले वार्षिक रू ४ अर्ब व्यापारघाटा बेहोरिरहेको छ ।

सन् २०१६ मा सानो मसुरो दाल उत्पादन गर्नेमा नेपाल विश्वको पाँचौं ठूलो मुलुक थियो । मुसुरोमा उत्पादन र क्षेत्रफल दुवै दृष्टिले अमेरिकलाई समेत नेपालले उछिनेको थियो । नेपालले मुसुरो निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएको थियो । तर, मुुसुरोको निकासी घट्दै आएको छ ।

निकासी घट्नुको कारण सरकारको किसानलाई प्रोत्साहन गर्ने नीति ल्याउन नसक्नु र उत्पादन घट्नु रहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा बताउँछन् । आफूले पनि मुसुरो बंगालदेश निकासी गर्दै आएको तर ४ वर्षदेखि नेपालमै मुसुरोको मूल्य महँगो पर्न थालेकाले निकासी गर्न छाडेको बोहोराले बताए ।

नजिकै भएर पनि १८ करोड जनसंख्या भएको बंगलादेशसँग व्यापार गरेर फाइदा लिन नसक्नु नेपालका लागि दुर्भाग्य भएको बताउँदै बोहोराले ‘प्रिफिन्सियल ड्यूटी’मार्फत उताका सामानमा छूट दिने र नेपालबाट निकासी हुने वस्तुमा पनि बंगलादेशले भन्सार छूट दिनेगरी ‘मोस्ट फेवर नेशन’ र ‘रेसिप्रोकल’ माध्यमबाट वस्तुको आयातनिर्यात गर्दा दुवै मुलुकको व्यापारमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे । त्यस्तो व्यवस्था हुन सके नेपालबाट एक्रेलिक यार्न, सिमेन्ट, क्लिंकर, कर्कट पाता, फलफूल, मसलालगायत उत्पादन बंगलादेश पठाएर लाभ लिन सकिने उनको भनाइ छ । बंगलादेशबाट आउने सामानमा लाग्ने भन्सार ड्यूटी कम र नेपालबाट बंगलादेश जाने वस्तुमा ७० प्रतिशतसम्म ड्यूटी लाग्ने गरेकाले नेपालले बंगलादेशसँगको व्यापारबाट फाइदा लिन सकेको छैन ।

बंगालदेशमा नेपाली मुसुरो मन पराइए पनि उत्पादनमा कमी आएपछि र नेपाली सामानमा भन्सार लिन थालेपछि बंगलादेशतर्पm हुने निर्यातमा कमी आएको हो । सन् २००८ मा नेपालले ८० हजार टन मुसुरो बंगलादेश निर्यात गरेको थियो भने घट्दै २०१३ मा १२ हजार टनमात्रै निर्यात गरेको थियो । त्यसयता मुसुरो निर्यात र उत्पादन घट्दै गएको छ । गतवर्ष ६ हजार मेट्रिक टन मुसुरो निर्यात भएको थियो ।

मेची नाका हुँदै १ दशक अघिसम्म मुसुरोलगायत कृषि उपज सहज रूपमा बंगलादेश निकासी हुँदै आए पनि पछिल्लो समय बंगलादेशले लगाएको भन्सार महसुलका कारण नेपाली उत्पादन बंगलादेश निकासी हुन सकेको छैन । नेपाली कृषि उपजलाई बंगलादेशले ६५ प्रतिशतसम्म शुल्क लिन थालेपछि वस्तुको निकासी नहुँदा बंगलादेशसँगको व्यापारघाटा वार्षिक रू। ४ अर्ब पुगेको मेची भन्सारका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माको भनाई रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्