Logo

संयमतापूर्वक निर्णय लिन निजीक्षेत्रको आग्रह



काठमाडौं, पुस ९ । प्रतिनिधिसभा विघटन भई मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको अवस्थामा अर्थतन्त्रमा गम्भीर असर पर्ने आकलन गर्दै व्यवसायीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । संसद् विघटन भएको तेस्रो दिन निजीक्षेत्रले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै राजनीतिक दलहरूलाई संयमतापूर्वक निर्णय लिन आग्रहसमेत गरेका छन् ।

राजनीतिक अस्थिरताले उद्योग व्यवसायमा असर पर्ने भन्दै मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजीक्षेत्रका शक्तिशाली संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

उनीहरूले बुधवार संयुक्त विज्ञप्ति जारी गर्दै निजीक्षेत्र जहिले पनि राजनीतिक स्थिरताको पक्षमा रहेको र निजीक्षेत्रले विगतमा पनि राजनीतिक स्थिरताका लागि बारम्बार सुझाव दिँदै आएको बताएका छन् ।

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँनयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गतिलिन सक्ने उनीहरूको भनाइ छ ।

विश्वव्याधि कोभिड–१९ का कारण मुलुक आक्रान्त भई अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुन सक्ने अस्थिरताको परिणाम थप गम्भीर हुनेतर्फ निजीक्षेत्र चिन्तित छ ।

राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सृजित घटनाक्रमले अन्योल सृजना गर्ने निजीक्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्