Logo

नेकपाको फुटले यी नेताहरुको राजनीतिक भविष्य के होला ?



काठमाडौं, ९ पौष । नेपाल कम्युनिस्ट पार्टी विभाजित भएसँगै नेपाली राजनीतिमा कम्युनिस्ट पार्टीको भविष्यमाथि दुरगामी असर पर्ने निश्चित भएको छ । पाका कम्युनिस्ट नेताहरुले नै दुई तिहाईको कम्युनिस्ट सरकार न भूतो न भविष्यती भनेका थिए । यस्तो अवसरका बाबजुद नेकपा नेतृत्वको भारी बहुमतको सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभा बिघटन गरिदिए ।

प्रतिनिधिसभा बिघटनसँगै नेकपाभित्र एकले अर्कालाई कारबाही गर्ने देखि पदमा स्थापित गर्ने होडवाजी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर ११ सय ९९ को केन्द्रीय कमिटी बनाएका छन् । अधिकांश केन्द्रीय सदस्य युवा उमेरका छन् । तर, उनले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउनेबाहेक कसैलाई हटाएको घोषणा गरेका छैनन् ।

नेकपाको प्रचण्ड समूहले माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् । यद्यपि, कानुनत संसद बिघटनको अवस्था छ । महासचिवमा माधव नेपाल निकट सुरेन्द्र पाण्डेलाई चयन गर्ने तय भएको छ ।

नेकपाभित्र पछिल्लो राजनीतिक घटनाले सिंगो दल चकनाचुर जस्तै हुने अवस्थामा छ । तर, केही उदीयमान नेताहरुले भने संकटबाट आफ्नो राजनीतिक भविष्य देख्न थालेका छन् ।

नेकपाभित्र स्थायी कमिटी सदस्यहरुको कित्ताकाट (को कता, सूचीसहित)

प्रधानमन्त्री ओली जस्तोसुकै जोखिम मोलेर भएपनि प्रचण्ड र माधव नेपालको राजनीतिक भविष्य नै समाप्त पार्न लागेका छन् । प्रचण्ड र नेपाल पनि ओलीविरुद्ध यसरी नै लागेका छन् । यसले अबको संघर्ष अझ पेचिलो हुने देखिन्छ । ओली र प्रचण्डमध्ये कुनै न कुनै नेताको राजनीतिक भविष्य निकै कमजोर हुने निश्चित छ । कतिपयले यी दुवैको राजनीतिक लगभग समाप्त हुने सम्मको आँकलन गर्न थालेका छन् । राधाकृष्ण मैनालीले त केपीको हालत सीपीको जस्तो हुने टिप्प्णी गरेका छन् ।

नेकपाभित्रको संघर्षमा केपीले प्रचण्डका तीन प्रभावशाली नेतालाई साथमा लिन सफल भएका छन् । जसमध्ये सुदुरपश्चिममा बलिया मानिएका लेखराज भट्ट, अर्घाखाँचीमा बलियो पकड भएका टोपबहादुर रायमाझी र अर्का नेता मणि थापा छन् । यीमध्ये भट्ट र रायमाझीले राजनीतिक जोखिम मोलेका छन् । बादल कुन समूहमा छन् स्पष्ट हुन सकिरहेका छैनन् । उनलाई आफ्नै गुटले छाडिसकेको छ । बादल अहिले एक्ला जस्तै छन् । उनको राजनीतिक भविष्यमा पनि बादल मडारिएको छ ।

नेकपा उपाध्यक्ष वामदेव गौतम पनि तटस्थ छन् । उनी कतै नलागी नयाँ दल बनाउनेबारे परामर्श गर्न थालेका छन् । दुईपटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका गौतमको पनि राजनीतिक भविष्य राम्रो मानिएको छैन । उनले आफ्नै गुट समेत जोगाउन सकेनन् । कुनै गुटमा मजबुत भएर बस्न पनि सकेनन् । ७० कटेका वामदेवका लागि अब सत्तामा पुग्न सजिलो अवस्था छैन ।

माधवकुमार नेपाल फेरि अध्यक्ष बन्न सफल भएका छन् । उनी यसअघि पार्टीमा वरिष्ठ नेता थिए । प्रचण्ड समूहमा रहेर ओलीविरुद्ध लागेर उनले अध्यक्ष पद हासिल गरेका छन् । माधव नेपाल निकटस्थ सुरेन्द्र पाण्डे फेरि बलिया भएका छन् । उनलाई महासचिवको जिम्मेवारी मिल्ने भएको छ । पूर्व अर्थमन्त्री पाण्डे तत्कालिन नेकपा एमालेको अघिल्लो महाधिवेशनमा इश्वर पोखरेलसँग महासचिवमा पराजित भएका थिए । त्यसपछि उनी लामो समय छायाँमा पर्दै आए ।

काठमाडौंलाई आधार बनाएर राजनीति गर्दै आएका नेकपाका प्रभावशाली नेता इश्वर पोखरेलले ओलीलाई निकै साथ दिए । तर, उनी ओलीको उत्तराधिकारी बन्ने प्रयासमा छन् । पोखरेललाई ओलीले स्थापित गर्ने इच्छा भने देखाएको देखिदैन । बरु उक्त समूहमा शंकर पोखरेल बलियो गरी बढेका छन् ।

पार्टी एक हुँदा महासचिव बनाइएका विष्णु पौडेल ओली समूहको महासचिवमा सिमित बनाइएका छन् । उनले ओलीको खुबै साथ दिए । अर्थमन्त्री पनि बने । तर, लुम्बिनी प्रदेशको राजधानी दाङ बनाउँदा उनलाई गृहक्षेत्रमा धक्का लाग्यो । पौडेल विवादमा पनि तानिए । उनले बलियो गुट बनाउन सकेनन् न त ओलीको अति विश्वासपात्र बन्न सके । यसपटक पौडेललाई ठुलो घाटा लागेको छ ।

मन्त्री बनर घनश्याम भुसालको साख गिर्न पुग्यो । कृषीमन्त्री भएर मल किसानलाई समयमा उपलब्ध गराउन नसकेको आरोप खेपे । सिद्धान्तवादी नेता भुसाल त्यसमै मात्र सिमित रहेको आरोप खेप्न पुगे । नेकपा विभाजनका क्रममा उनी सरकार छाडेर त आए तर उनको प्रभाव कमजोर देखियो । योगेश भट्टराई पनि सरकार छाडेर आए । तर, उनको स्थान र प्रभाव खासै देखिन सकेको छैन । यद्यपि भट्टराईले माधव नेपालको पक्ष लिएका छन् ।

नेकपाभित्र प्रभाव बनाउँदै आएका सुवासचन्द्र नेम्वाङको भविष्यलाई पनि यो घटनाले एउटा मोड दिने भएको छ । पहिलोपटक सभामुख हुँदा नै प्रभावशाली नेम्वाङले नयाँ संंविधानमा धर्मनीरपेक्षता उल्लेख गराउने मुख्य भुमिका खेलेको जस लिदै आएका छन् । समन्वयकारी नेताका रुपमा परिचित उनी यसपटक ओली समूहको कित्तामा उभिएका छन् । बदलिंदो परिस्थितिमा उनको हैसियत के हुने हो ? यो चासोको विषय बनेको छ ।

ओली समूहमा प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवाली ओलीका प्रीयपात्र हुन् । उनले यसपटक विभाजनमा पदोन्नतिको अवसर पाएका छन् । तर, विभाजनपछि उनको समूह कमजोर भएमा चुनावी क्षेत्र देखि राष्ट्रिय राजनीतिमा धक्का खानुपर्ने हुनसक्छ । यो समूह झन् बलियो भएमा ज्ञवालीको राजनीतिक भविष्य झन् बलियो हुँदैछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री भइसकेका नेता हुन् । ७० कटेका यीनको राष्ट्रपति बन्ने चाहना थियो । तर, ओली विद्या भण्डारीलाई नै समर्थन गरेपछि खनाल चिढिदै आएका छन् । उनी नेकपाको प्रचण्ड समूहमा वरिष्ठ नेताकै हैसियतमा छन् । तर, आफ्नै बलियो गुट नभएकाले खनालको राजनीति स्थिर नै रहने देखिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ओली समूहको कारबाहीमा पर्ने एकमात्र नेता हुन् । उनलाई प्रवक्ताबाट ओलीले हटाएका छन् । श्रेष्ठ पछिल्लो समय निकै विवादमा तानिए । यसले उनलाई निकै घाटा पुग्यो । पार्टी विभाजनपछि श्रेष्ठको प्रभाव र भुमिका खासै बढ्ने देखिएको छैन ।

ओली पक्षको पेलाईमा परेकी अष्टलक्ष्मी शाक्यलाई भने विभाजनले लाभ पुग्ने देखिदैछ । उनी बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबेदार बनेर बढिसकेकी छिन् । अब बन्ने सचिवालयमा उनको प्रवेशको सम्भावना देखिदैछ । शाक्य लामो राजनीतिक संघर्ष गरेकी नेकपाभित्रकी थोरै महिला नेतामध्येकी हुन् ।

पटक पटक मन्त्री भएका गिरिराजमणि पोखरेल नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । यसपटक पोखरेल मन्त्री पदबाट राजीनामा दिएर आएका छन् । उनको राजनीतिक भविष्य पनि योभन्दा माथि पुग्ने देखिदैन ।

ओलीले मन्त्री पदबाट हटाएपछि ओझेलमा परेका गोकर्ण बिष्ट विभाजनपछि महत्वपूर्ण स्थान पाउने सम्भावित नेतामा पर्छन् । उनीसँग संगठनमा बलियो पकड छ । गोकर्ण सालिन र संयम ढंगले बढ्ने नेता हुन् । ओलीले मनै नपनपराउने बिष्टलाई यो विभाजनले अवसर सृजना गर्ने देखिएको छ ।

जर्नादन शर्मा विगतमा गृह र ऊर्जामन्त्री भइसकेका छन् । तर, ओली सरकारमा उनले कुनै अवसर पाएनन् । नेकपा एकीकरणमा महत्वपूर्ण भूमिका निभाएका उनलाई पूर्व माओवादीले एमालेसँग मिलाएर गल्ती गरेको भन्ने गरेका छन् । शर्मा केही समययता कमजोर अवस्थामा थिए । यो विभाजनले उनी फेरि जुर्मुराउने छाँट देखिएको छ ।

देवप्रसाद गुरुङ ओलीको तारोमा पर्दै आएका नेतामध्येका हुन् । प्रमुख सचेतकबाट राजीनामा समेत मागेको खुल्यो । गुरुङ विगतमा बादल पक्षधर हुन् । विभाजनपूर्व उनले खेलेको भुमिकाका कारण महत्वपूर्ण अवसर पाउन सक्छन् ।

देवेन्द्र पौडेल प्रचण्डका विश्वासपात्र हुन् । उनले पनि झन् राम्रो अवसर पाउनसक्छन् । पम्फा भुसाल प्रचण्डको पक्षमा दरिलोसँग उभिइन् । बादल समूहकी उनले प्रचण्डलाई साथ दिएकी छिन् । प्रचण्ड पक्षमा सबैभन्दा प्रभावशाली महिला भएकीले अब विस्तार हुनसक्ने सचिवालयमा उनको पनि स्थान बन्नसक्छ ।

वर्षमान पुन मन्त्री पदबाट राजीनामा दिएर आए । प्रचण्डलाई अप्ठ्यारोमा साथ दिने नेताका रुपमा उनको नाम आउँछ । पुनलाई यो विभाजनले घाटा नै पुगेको छ । तर, उनको राजनीतिक भविष्य भने अझै बलियो अवस्थामा छ ।

वेदुराम भुसाल माधव नेपालका विश्वासपात्र हुन् । उनले पनि राम्रो छलाङ मार्ने सम्भावना छ । भीमप्रसाद आचार्य प्रदेशसभा सांसदमा सिमित रहे । यो विभाजनले उनका लागि पनि केही अवसरको ढोका खुल्ने देखिदैछ । उनी प्रदेश १ मा मुख्यमन्त्रीका दाबेदार बनेका छन् ।

भीमबहादुर रावल ओलीको विरोधमा सबैभन्दा सशक्त रुपमा उभिने नेता हुन् । उनले प्रमुख प्रतिपक्षी दलको नेता जस्तै भएर ओली सरकारको आलोचना गरिरहे । माधवकुमार नेपाल निकट प्रभावशाली नेता रावललाई एकताले निकै घाटा पुगेको थियो । उनी तत्कालिन नेकपा एमालेको उपाध्यक्ष भइसकेका नेता हुन् । तर, स्थायी कमिटीमा सिमित पारिए । यसबाट उनी निकै असन्तुष्ट थिए । यो विभाजनले रावलका लागि अवसरको नयाँ ढोका खुलेको छ ।

मातृकाप्रसाद यादव ओली सरकारमा दुई वर्ष जति रहे । उनलाई ओलीले हटाए । तर, यादव विगतमा जसरी सशक्त ढंगले प्रस्तुत हुन सकेका छैनन् । यादवको राजनीतिक स्थिर नै रहने अवस्था छ ।

मुकुन्द न्यौपाने कुनैबेला एमालेमा हुँदा सशक्त नेता थिए । तर, एकीकरणपछि नेकपा बन्दा उनी ओझेलमा परे । अब पनि उनको अवस्थामा खासै फरक नहुने देखिदैछ ।

रघुजी पन्त माधवकुमार नेपालका विश्वासपात्र हुन् । माधव नेपाल अध्यक्ष बनेबाट उनको पनि दिन फर्केको छ ।

लिलामणि पोखरेल फेरि सक्रिय बन्न थालेका छन् । पार्टीको नाम र चुनाव चिन्ह दाबी गर्न उनको निर्वाचन आयोगमा दौडधुप बढी देखियो । यसबाट उनी पनि महत्वपूर्ण भूमिकामा देखिने सम्भावना बढेको छ ।

माधव नेपाल निकट युवराज ज्ञवालीलाई पनि यो विभाजनले लाभ पुग्न सक्छ । उनी नेकपा एकीकृत हुँदा भुमिकासुन्य जस्तै थिए ।

शक्तिबहादुर बस्नेत प्रचण्डका विश्वासपात्र हुन् । उनको राजनीतिक पनि स्थिर अवस्थामै रहने देखिन्छ ।

पार्टी संघर्ष हुँदा हरिबोल गजुरेलले ढुलमुले भूमिका देखाए । उनी झण्डै ओली पक्षमा गएका थिए । तर, प्रचण्ड पक्षमा रहे । तर, विगतमा जस्तो प्रचण्डले विश्वास गर्ने हुन् या होइनन् ? यो गम्भीर प्रश्न बनेको छ । स्पष्ट बोल्ने गजुरेलले राजनीतिमा जोखिम मोल्न नखोजेकाले पनि उनलाई यो विभाजनले घाटा पुगेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्