Logo

लकडाउनमा खाली हिरासत फेरि भरिँदै



काठमाडौं, पुस १० । कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि उपत्यकाका प्रहरी कार्यालय र हिरासत कक्ष सुनसान थिए। गत चैतदेखि असोजसम्म उपत्यका अपराध मुक्त जस्तै बन्यो। लकडाउन खुलेपछि आपराधिक गतिविधि भने मौलाउन थालेका छन्। अपराध पूर्ववत् अवस्था जस्तै बढ्न थालेपछि प्रहरीले कोरोना संक्रमणकै बीचमा पनि निगरानी र सुरक्षा सतर्कता बढाएको छ।

लकडाउनको बेला शान्त भएको महानगरीय प्रहरी परिसर हनुमानढोका अहिले भीडभाड छ। १ सय ३३ जना हिरासतमा छन्। यो संख्या हरेक दिन थपघट हुने गरेको प्रहरीको भनाइ छ। सहरबजार सामान्य भइसकेपछि आपराधिक गतिविधि बढेको प्रहरीको भनाइ छ।

परिसरका एसएसपी अशोक सिंहले कोरोना संक्रमणकै बेलामा पनि आपराधिक गतिविधि हुने गरेको बताए। ‘केही समय अपराध शून्य जस्तै भएको उपत्यकामा फेरि अपराध बढेको छ,’ उनले भने, ‘उपत्यकामा सबैखाले गरी दैनिक १२र१५ वटा आपराधिक क्रियाकलाप हुने गरेको तथ्यांक हामीसँग छ।’ उनका अनुसार लकडाउनको समयमा ६५ वर्षको इतिहासमा पहिलोपटक हिरासत कक्ष खाली भएको थियो।

हिरासतकक्ष खाली भएपछि रंग लगाउने र मर्मत गर्ने कार्य पनि भएको थियो। अरू बेला भीडभाड हुने गरेका कारण हिरासत कक्ष मर्मतसंम्भार गर्न समस्या परेको थियो। परिसरका अनुसार यो हिरासत कक्ष उपत्यकाको सबैभन्दा बढी थुनुवाहरू राख्ने ठाउँ हो। हाल जघन्य अपराध, ठगी तथा घरेलु हिंसाबारे बढी मुद्दा परिसरमा दर्ता हुन्छन्।

आपराधिक गतिविधि बढेसँगै हाल उपत्यकामा सादा पोसाकमा तीन हजारभन्दा बढी प्रहरी फिल्डमा खटिएको बताइएको छ। १४ वटा प्रहरी वृृत्त रहेको काठमाडौंका अधिकांश वृत्तमा मुद्दाको चाप बढेको छ। लागुऔषध, बैंकिङ कसुर र ठगी मुद्दाको संख्या बढ्दै गएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरमा पनि भीडभाड बढेको छ। अपराधिक क्रियाकलापनमा संलग्न रहनेहरूको संख्या बढेसँगै हिरासत कक्ष पनि भरिन थालेका छन्। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले लकडाउन खुलेपछि मुद्दामामिला बोकेर प्रहरी कार्यालय धाउनेको संख्या बढेको बताइन्। उनले भनिन, ‘बन्दको बेलामा अपराध शून्य थियो, अन्यायमा परेका मानिसहरू प्रशासनमा आउन सकेका थिएनन्, लकडाउन खुलेपछि अपराधका दर र मुद्दा बोकेर आउनेको संख्या बढ्दो छ।’ परिसरको हिरासत कक्षमा ४० जनाभन्दा बढी थुनुवाहरू रहेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्