Logo

‘मन्त्रिपरिषद् पुर्नगठन छिट्टै’



काठमाडौं, पुस १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताएका छन्। नेकपाको बिहीबार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताए।

यही पुस ५ गते सरकारका सात जना मन्त्रीले राजीनामा दिएका थिए। प्रवक्ता ज्ञवालीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ प्रधानमन्त्री नभएको स्पष्ट पारेका छन्। ‘प्रधानमन्त्री काम चलाउ होइन, ‘फुलफेज’ प्रधानमन्त्री नै हो’, उनले भने।

उनले अब पार्टीको एकमात्र एजेण्डा सङ्गठन विस्तार र निर्वाचनको तयारी रहेकोसमेत बताए। बैठकले यसअघि पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएकामा त्यो फिर्ता लिएको छ। उनले अर्को पक्षले गर्ने आन्दोलनको कुनै अर्थ नभएको स्पष्ट पारे।

‘जनमत जुटाउन जान छोडेर आन्दोलनका नाममा जनतालाई थप पीडा दिनु भनेको जनताबाट पलायन हुनु हो’, उनले भने, ‘उहाँहरुलाई म आग्रह गर्न चाहन्छु त्यो आन्दोलनको निर्णय फिर्ता लिनुहोस्।’

अहिलेका प्रधानमन्त्री ओलीले नेतृत्व गरेका नेकपाको ६४ प्रतिशत संसद्मा रहेकाले प्रधानमन्त्रीमाथि दलको विश्वास नटुटेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्