काठमाडौं, १० पौष । तत्कालिन नेकपा एमालेमा दुई महिला नेताबीच खुबै प्रतिष्पर्धा हुन्थ्यो । एउटा पक्षमा थिइन् विद्यादेवी भण्डारी र अर्कोतर्फ थिइन् अष्टलक्ष्मी शाक्य । भण्डारी मदन भण्डारीको विरासतको राजनीतिबाट उदाएकी हुन् । मदन भण्डारीको रहस्यमय मृत्युपछि उनले निकै संघर्ष गरेकी थिइन् ।
अष्टलक्ष्मी शाक्य पञ्चायतकालमै कम्युनिस्ट आन्दोलनमा निकै दुःख गरेकीमा पर्छिन् । उनले पछिल्लो समय राजनीतिमा पति अमृतकुमार बोहरालाई पनि उछिनेकी छिन् । कुनैबेला विद्या भण्डारी केन्द्रीय सदस्यमा सिमित हुँदा अष्टलक्ष्मी स्थायी कमिटी सदस्य थिइन् । भण्डारी राजनीतिबाट टाढा भएको अवस्थामा पनि शाक्य नेकपाको कमिटीमा निरन्तर थिइन् । तर, राजनीतिले यस्तो अवस्था बनाइदियो कि पूर्वमन्त्री समेत रहेकी शाक्य प्रदेशसभा सांसदमा सिमित छिन् । भण्डारी राष्ट्रपति छिन् ।
यी हुन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने ४५ सांसद (सुचीसहित)
बागमती प्रदेशको मुख्यमन्त्री बन्ने दौडमा उनी पाखा लगाइन् । एकीकरणपनि नेकपा बन्यो । प्रचण्ड र ओलीको भागवण्डाले माधव नेपाल पक्षले कतैपनि मुख्यमन्त्री पद पाएन । यतिसम्मकी मन्त्री पद पनि प्रदेशमा खासै पाएन । अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्न थालिन् ।
समयले कोल्टे फेरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका प्रदेशसभा सांसद संख्या ८० जना रहेकोमा ४५ जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावमा अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने उल्लेख छ । अविश्वासको प्रस्ताव पारित भएका शाक्य अगाडि बढ्नेछिन् । उनले मुख्यमन्त्री भएर विश्वासको मत लिन ५६ जना सांसदको समर्थन पाउनुपर्छ । अहिलेको हस्ताक्षर अनुसार ११ जना अपुग संख्या हो ।
प्रदेशमा राजनीतिक अस्थिरतासँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशसभाको निलम्बन या बिघटन पनि गर्न सक्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रदेशहरुमा अविश्वासको प्रस्ताव आएमा आफूले पनि कडा कदम चाल्ने चेतावनी दिएका छन् । यसकारण पनि उनले राष्ट्रपतिलाई अनुरोध गरी प्रदेशसभा नै निलम्बन या बिघटनको कदम चाल्न सक्ने सम्भावना औल्याइएको छ ।
संविधानको धारा ३ बमोजिम राष्ट्रपतिले प्रदेश मन्त्रिपरिषद र प्रदेश सभा छ महिनासम्म निलम्बन गर्न वा बिघटन गर्न सकिने व्यवस्था छ । त्यसका लागि प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमका कार्य भएको अवस्थामा भनिएको छ । बिघटनलाई संघीय संसदले बहुमतबाट अनुमोदन गराउनुपर्छ । अहिले संसद बिघटनको अवस्थामा छ ।
राष्ट्रपति भण्डारीले यही कारण देखाउँदै बागमती प्रदेशसभा बिघटन गरिन् भने अष्टलक्ष्मी रोकिनेछिन् । उनको मुख्यमन्त्रीको दौडमा विद्या भण्डारी अवरोध बन्न सक्नेछिन् । विगतमा उनको धेरै प्रगतिको पाइलामा विद्या अवरोध बनेको विषय उठ्ने गरेको थियो ।