वीरेन्द्रनगर, १० पुस: नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशको अध्यक्ष पदमा सुर्खेतका पदमबहादुर शाहीको मात्र उम्मेदवारी परेको छ ।शनिबार हुने निर्वाचनको लागि उनको मात्र उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म शाहीको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए ।
सुर्खेत उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्षसमेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्षसमेत छन् । उनी सँगै एशोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एशोसियट तर्फको सदस्यमा सीताराम कार्की र झवीन्द्र खत्रीको मात्र उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ ।
जिल्ला–नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । जिल्ला–नगरको ५ सदस्यको लागि नाङ्गेल लामा (हुम्ला), नवीन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको छ । वीरेन्द्रनगरमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार शाहीले व्यवसायीको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । “हिजो पनि मैले नेतृत्व गर्दै आएको थिए, व्यवसायी साथीहरुले यसपालि पनि मलाई समर्थन गरेका छन्”, उनले भने, “व्यावसायिक हकहितदेखि नीति निर्माणका काममा अग्रसर भएर लागेका छौँ ।”रासस/File photo