Logo

व्यवसायीलाई त्रसित नबनाउन आग्रह



दमौली, १० पुस: जिल्लाका उद्योगी व्यवसायीले इमानदारीका साथ कर बुझाउन व्यवसायी सदैव प्रतिबद्ध रहे पनि त्रसित बनाउने गरेको गुनासो गरेका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले बिहीबार आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख नारायणप्रसाद ढकाललाई स्वागत गर्दै व्यवसायी कर तिर्न सदैव प्रतिबद्ध रहे पनि विभिन्न बहानामा त्रसित बनाउने काम भइरहेको गुनासो गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले कर विवरणमा पेश गरिएको अडिट विवरणमा समावेश खर्चलाई कटाई व्यवसायीहरूलाई जरिवाना गराउने कार्यले व्यवसायीहरूलाई त्रसित बनाएको भन्दै उक्त कार्य सच्याउनुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, भन्सार बजार इकाइ समितिका सभापति लालकुमार श्रेष्ठले कर कार्यालय र व्यवसायी हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नारायण ढकालले व्यवसायीसँग प्रत्यक्षरूपमा सरोकार राख्दै करदाताहरूको सेवामा विशेष ध्यान दिई व्यवसायी मैत्रीपूर्ण ढङ्गबाट कर असुली गर्ने र कर शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्रले संस्था नाफामूलक नभई सेवामूलक भएकाले आयआर्जन भएका रकम सामाजिक, धार्मिक, शैक्षिक संस्थामा लगानी गर्दै आएको बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्