Logo

गणतन्त्र धरापमाः प्रचण्ड



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र धरापमा परेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पार्ने प्रतिनिधिसभा बिघटन गर्नुभयो,’ नेकपा विभाजनपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने,‘ असंवैधानिक तरिकाले लोकतन्त्रको निर्ममतापूर्वक हत्या गर्ने प्रयास भएको छ ।’ उनले प्रधानमन्त्रीको कदमलाई प्रतिगमनतर्फ जाने कदम भने । संसद बिघटनलाई तानाशाहीको नाङ्गो रुप भने ।

प्रतिनिधिसभा बिघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रचण्डले भने,‘निरंकृशता झल्कने प्रष्ट संकेतका साथ प्रतिनिधिसभा बिघटन गरिएको छ ।’ उनले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेको तर्क गरे । यसले निकै जटिल ठाउँमा नेपालको राजनीतिक ल्याएको टिप्पणी गरे । प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध अन्य दलसँग समेत सहकार्य गरेर जाने बताए ।

पार्टी एकता हुँदा ४४१ जनाको हस्ताक्षरसहित नागरिकताको प्रतिलिपि निर्वाचन आयोगमा बुझाइएको जानकारी दिए । उनले आज निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँदा २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर आफै पुगेर बुझाएको सुनाए । केन्द्रीय सदस्य संख्या दुई तिहाई आफूहरुको पक्षमा रहेकाले राजनीतिक दलसम्बन्धी व्यवस्था बमोजिम पार्टीको नाम, चुनाव चिन्ह सबै दुई तिहाई सदस्यहरु भएको आफूहरुले पाउने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तार गरी ११९९ पुर्याएको कदमलाई प्रचण्डले लज्जास्पद र अनैतिक काम भने । ‘यो भन्दा लज्जास्पद र अनैतिक काम के हुनसक्छ ?’ प्रचण्डले प्रश्न गरे ।

निर्वाचन आयोगप्रति विश्वास भएपनि संविधान कुल्चिएर प्रतिनिधिसभा बिघटन गरिएको भन्दै त्यस्तै गतिविधि आयोगले गर्नेमा आशंका समेत गरे ।



प्रतिक्रिया दिनुहोस्