Logo

प्रचण्डले भनेः ओलीबाट लुकेर डस्ने काम भयो



काठमाडौं, १० पौष । ”ओली तपाईंभन्दा तीनवटा भोटो बढी फटाएको छु भन्ने, लौन त तीनवर्ष जेठो हो भनेर छाड्दिहाल्ने । म त्यसो भन्दा फुरुङ्ग पर्ने । आलोपालो अध्यक्षता छाडौं संयुक्त गरौं भन्दा मान्दिहाल्ने । आलोपालो प्रधानमन्त्रीको सहमति लौ त कार्यकारी अध्यक्ष चलाउने भन्दा छाड्निहाल्ने । त्यसले ओलीमा झन् अहंकार र निरंकुशता पो बढ्यो । सहमति छाड्दै जानु कमजोरी भयो । आलोपालो छाड्नु त्रुटी भयो ।”

नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलनमा आफूबाट भएको गल्तीबारे यसरी उल्लेख गरे । उनले अगाडि भने,‘ओली नक्कली रुप बुझ्ने त्रुटी भयो । लुकेर डस्ने काम भयो ।’

ओलीको शैली गर्दिनँ भन्ने तर गर्ने खालको भएको टिप्पणी गरे । उनले भने,‘केही गर्दिनँ भन्दै छुरी रोप्ने खालको, भ्रष्टाचार गर्दिनँ भन्ने तर संरक्षण गर्ने ।’

उनले प्रधानमन्त्री ओलीले गणतन्त्र र संघीयतामाथि क्रुर प्रहार गरेको आरोप समेत लगाए । ओलीको कदमले गणतन्त्र धरापमा परेको बताए ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र धरापमा पार्ने प्रतिनिधिसभा बिघटन गर्नुभयो,’ नेकपा विभाजनपछि पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भने,‘ असंवैधानिक तरिकाले लोकतन्त्रको निर्ममतापूर्वक हत्या गर्ने प्रयास भएको छ ।’ उनले प्रधानमन्त्रीको कदमलाई प्रतिगमनतर्फ जाने कदम भने । संसद बिघटनलाई तानाशाहीको नाङ्गो रुप भने ।

प्रतिनिधिसभा बिघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रचण्डले भने,‘निरंकृशता झल्कने प्रष्ट संकेतका साथ प्रतिनिधिसभा बिघटन गरिएको छ ।’ उनले प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेको तर्क गरे । यसले निकै जटिल ठाउँमा नेपालको राजनीतिक ल्याएको टिप्पणी गरे । प्रतिनिधिसभा बिघटनको कदमविरुद्ध अन्य दलसँग समेत सहकार्य गरेर जाने बताए ।

पार्टी एकता हुँदा ४४१ जनाको हस्ताक्षरसहित नागरिकताको प्रतिलिपि निर्वाचन आयोगमा बुझाइएको जानकारी दिए । उनले आज निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँदा २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर आफै पुगेर बुझाएको सुनाए । केन्द्रीय सदस्य संख्या दुई तिहाई आफूहरुको पक्षमा रहेकाले राजनीतिक दलसम्बन्धी व्यवस्था बमोजिम पार्टीको नाम, चुनाव चिन्ह सबै दुई तिहाई सदस्यहरु भएको आफूहरुले पाउने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी विस्तार गरी ११९९ पुर्याएको कदमलाई प्रचण्डले लज्जास्पद र अनैतिक काम भने । ‘यो भन्दा लज्जास्पद र अनैतिक काम के हुनसक्छ ?’ प्रचण्डले प्रश्न गरे ।

निर्वाचन आयोगप्रति विश्वास भएपनि संविधान कुल्चिएर प्रतिनिधिसभा बिघटन गरिएको भन्दै त्यस्तै गतिविधि आयोगले गर्नेमा आशंका समेत गरे ।-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्