Logo

बामदेवलाई ओली पक्षद्वारा अध्यक्ष र उपप्रधानमन्त्रीको प्रस्ताव



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम मात्र सचिवालयका त्यस्ता नेता छन् जो केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा कुनैपनिमा गएका छैनन् । तटस्थ अवस्थामा रहेका गौतमलाई आफ्नो पक्षमा पार्ने प्रयास भने दुवैको जारी रहेको छ ।

गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा पार्ने प्रयास जारी राखेका छन् । उनलाई विश्वासपात्रमार्फत् पार्टीको दोस्रो वरियताको अध्यक्ष र उपप्रधानमन्त्रीसहित गृह वा अर्थमध्ये रोजेर दिने सम्मको प्रस्ताव पुगेको छ ।

विश्वस्त स्रोतका अनुसार भैंसेपाटीमा ओलीनिकट प्रभावशाली नेताहरु पुगेरै यस्तो प्रस्ताव गरेका हुन् । पछिल्लो समय अर्थमन्त्री समेत रहेका नेकपा ओली पक्षका महासचिव विष्णु पौडेलले गौतमलाई भेटेर अध्यक्ष र उपप्रधानमन्त्री बनाउने ओलीको चाहनाबारे सुनाएका थिए ।

गौतमले भने आफू तटस्थ बसेर पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने जवाफ दिएका छन् । उनले यो फुटले नेकपाको दुवै पक्ष निकै कमजोर हुने भन्दै कुनै पनि पक्षमा आवद्ध नहुने अडान कसेका छन् । बरु उनी छुट्टै समूह बनाएर भविष्यमा समेत एकता बनाउन लाग्ने रणनीतिमा रहेको बुझिएको छ ।

नेकपाको अहिलेको फुटको अवस्थामा ओली र प्रचण्ड दुवैतर्फ सचिवालयका ४४ जना छन् । ९ सदस्यीय सचिवालयमा बामदेव तटस्थ बसेका हुन् । हिजो बादल ओली पक्षमा पुगेपछि बराबरीको अवस्था बनेको हो ।

स्थायी कमिटीमा भने प्रचण्ड पक्ष बहुमतमा छ । प्रचण्डको साथमा २७ जना छन् । ओलीको पक्षमा १५ जना छन् । कुल ४३ सदस्यीय स्थायी कमिटीमा बामदेव तटस्थ हुन् ।



प्रतिक्रिया दिनुहोस्