Logo

प्रचण्ड, नेपाल र खनालले किन ओलीलाई ‘गोमन साँप’ को संज्ञा दिए ?



काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली एकातर्फ छन् भने अर्कातर्फ तीनजना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल छन् । ओली भर्सेस प्रचण्ड, नेपाल र खनाल चलिरहेको छ । उनीहरुबीच आरोप प्रत्यारोपको शृंखला झन् बढ्दो छ ।

आज नेकपाको प्रचण्ड पक्षले गरेको पत्रकार सम्मेलनमा तीनैजना शिर्ष नेताले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल तीनैजनाले ओलीलाई गोपन साँपसँग तुलना गरे । कसैले लुकेर डस्ने भने त कसैले बदलाको भावना राखेर आक्रमण गरिछाड्ने भने ।

‘क्यामोफ्ल्यास गरेर मौका पाए डसौंला भनेर बस्नुभएको रहेछ,’ प्रचण्डले ओलीलाई साँपसँग तुलना गर्दै भने,‘ओली नक्कली रुप बुझ्ने त्रुटी भयो । लुकेर डस्ने काम भयो ।’ केही गर्दिनँ भनेजस्तो गर्ने तर चुरी रोप्ने शैली भएको टिप्पणी गरे ।

अर्का नेता माधव नेपालले पनि ओलीलाई साँप जस्तै खतरनाक भने । आफूले ओलीसँग ४९ वर्ष संगत गरेको नेपालको भनाई थियो । उनले ओलीले कम्युनिस्ट आन्दोलनलाई सखाप पार्न लागेको आरोप लगाए । ओलीको कदमलाई रुसी नेता मिखायल गोर्भाचोमको कदमसँग तुलना गरे । उनले भने,‘मैंले नपाए कुर्सी नै भाँच्नुपर्छ भन्ने प्रवृत्ति ओलमिा छ ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले ओलीलाई सिधै गोपन साँपसँग तुलना गरे । उनले गोपन साँपको जस्तै रिस राखेर डस्ने गरेको आरोप लगाए । ‘ओलीजी गोपन साँप जस्तो हो,’ नेकपा प्रचण्ड समूहको पत्रकार सम्मेलनमा खनालले भने,‘गोमन साँपले आफूलाई चलाउनेको फोटो आँखामा राखेर बदला लिन्छ, उहाँमा त्यही प्रवृत्ति छ ।’

उनले प्रधानमन्त्री ओलीमा अनाधिकृत रुपमा काम गर्ने प्रवृत्ति भएको आरोप समेत लगाए । २०२७ सालको झापा आन्दोलन देखि नै ओलीले अनाधिकृत रुपमा काम गर्ने गरेको बताए । अहिले पनि अनाधिकृत रुपमा प्रतिनिधिसभा बिघटन गरेको खनालको आरोप थियो ।-तस्बिरः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्