Logo

सहज छैन बैङ्किङ सेवा



काठमाडौं, पुस ११ । कोभिड सङ्क्रमणको त्रास घट्दै अन्य उद्यम–व्यवसाय सहज हुन थाले पनि वाणिज्य cहरूले प्रदान गर्ने सेवा सहज हुन सकेको छैन । धेरै बैङ्कमा गेटबाहिर नै सेवाग्राही लाम लागेर पालो कुर्न बाध्य छन् भने कतिपयमा बैङ्कहरूले प्रदान गर्ने प्राविधिक सेवा पनि ढिलो गरी दिइने पाइन्छ ।

पाटन मङ्गलबजारका सुमन अवालेले आफू १० हजार रुपियाँको चेक बोकेर बैङ्क जाँदा बैङ्कबाहिरै सडकसम्म रहेको लाइनमा डेढ घण्टा कुरेको बताए । अवालले भने, “सडकदेखि बजारसम्म हेर्दा त अवस्था सामान्य भएजस्तो लागेको थियो तर बैङ्कमा त अझै पनि कोरोनाको लकडाउन र निषेधाज्ञा रहेछ । ”

आफ्नै पैसा निकाल्न र जम्मा गर्न बैङ्क जाँदा पनि केही बैङ्कले पैसा सापटी माग्न गएकोजस्तो व्यवहार गरेको आरोप उनको रहेको छ । कोरोनाबाट बच्न आवश्यक सावधानीका उपाय अवलम्बन गर्दै सम्मानजनक सेवा प्रवाह हुनुपर्नेमा जोड दिँदै उनले सवारीसाधनको जोरबिजोर प्रणाली पनि हटाइएको अवस्थामा केही बैङ्कले कोरोनाकै त्रास देखाएर ग्राहकलाई अनावश्यक दुःख दिइरहेको दाबी गरे।

धेरैजसो बैङ्कमा सेनिटाइजर र अन्य सुरक्षाका उपाय अवलम्बन गरेर भित्र जान मिल्छ तर कतिपयमा मूल ढोकाको अघिल्तिर पनि उभिन पाइँदैन ।नेपाल बैङ्कर्स एसोसिएसनका कार्यकारी निर्देशक अनिल शर्मा बैङ्कहरूमा पछिल्लो समय अपनाइएको व्यवस्था के कारणले गर्दा भन्ने सबैले विचार गर्नुपर्ने बताउन्छन । “भीडभाड नगर्ने र २५ जनाभन्दा बढी भेला नगर्ने नीति छँदै छ ।

कोरोनाको सङ्क्रमणको जोखिम पनि अझै नहटेको हुँदा ग्राहककै सुरक्षाका लागि यो सबै गरिएको हो,” उनले भने । उनले कतिपय बैङ्कका शाखामा सीमित ठाउँ हुने भएकाले भित्र भीडभाड गर्न नमिल्ने भएका कारण सडकको पेटीबाट अफिस सुरु हुने स्वीकार गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्