Logo

ओलीले निर्वाचन गर्नका लागि घोषणा गर्नुभएको होइनः भीम रावल



काठमाडौं, ११ पौष । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगर्ने बताएका छन् । उनले ओलीले संविधानको हत्या गरेको आरोप लगाउँदै प्रतिनिधिसभा बिघटन चुनाव गर्ने नियतले नभएको बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै रावलले ओलीबाट घोर असंवैधानिक काम भएकाले लोकतन्त्रको समेत हत्या गर्न खोजेको आरोप लगाए । ‘केपी ओलीले चुनाव गर्नका लागि घोषणा गर्नुभएको होइन,’ प्रचण्ड र माधव नेपाल पक्षीय नेता रावलले भने, ‘चुनाव गर्ने नियत हुन्थ्यो भने संविधानको सम्मान गर्नुहुन्थ्यो, संसद बैठक डाक्न राष्ट्रपति कहाँ परेको निवेदनको सम्मान गर्नुहुन्थ्यो ।’ ओलीले लोकतन्त्रको मर्ममाथि प्रहार गरेकाले कुनै हालतमा चुनाव नगर्ने ठोकुवा गरे ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका रावलले नेपालको संविधानमाथि कुठाराघात गरेर देशलाई अनिश्चय र द्वन्द्वमा धकेलेको आरोप लगाए । प्रतिनिधिसभा बिघटनले नेपाली जनताको समेत अपमान भएको तर्क गरे । सर्वोच्च अदालतले संविधानको रक्षाका लागि फैसला गर्नेमा ढुक्क भएको समेत बताए । अदालतले संसद बिघटनको पक्षमा फैसला गरेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, ‘संविधान विपरित न्यायालय जाने कल्पना पनि गर्न सकिन्नँ ।’ ओलीले संविधानको हत्या गरेकाले न्यायालयले अन्यथा निर्णय नगर्ने तर्क गरे ।

नेता रावलले प्रतिनिधिसभा नेकपाको झण्डै दुई तिहाई सदस्य संख्या हुँदाहुँदै बिघटन गर्नुलाई देशलाई असफल बनाउन खोजिएको बताए । यसमा ठुलो षड्यन्त्र भएको हुनसक्ने बताए । ओलीले तीन वर्षमै संसद बिघटन गरेर जनताको टाउकोमा बोझ थप्ने पाइला चालेको बताए । यो कदमलाई गणतन्त्र खत्तम पार्ने पाइला भने । उनले भने, ‘ओलीबाट गणतन्त्र खत्तम पार्न सक्नुहुन्छ, ढुक्क हुन सकिदैन ।’

ओलीले पटक पटक देश र जनता विरोधी कार्य गरेको आरोप लगाए । देशको नक्शा र क्षेत्रफलसम्बन्धी पुस्तक नै रोकेको बताए । उनले भने, ‘विदेशी महिलाले एउटा होटलमा गरेको होली वाइन भनिएको कार्यक्रममा देशको प्रधानमन्त्री भएर चार चार दिन जानुभयो ।’ ओलीले विदेशी चलचित्रसम्बन्धी अवार्डका लागि देशको ढुकुटी प्रयोग गर्न खोजेको भन्दै गम्भीर प्रश्न गरे ।

ओलीले पार्टीभित्र पनि निरंकुशता र स्वेच्छाचारी व्यवहार देखाएको आरोप लगाए । पार्टीको संसदीय दलको बैठक समेत नबोलाएको र लोकतान्त्रिक प्रक्रिया पटक पटक मिचेको बताए ।

ओलीले मन्त्री बनाएकाहरुलाई समेत मन्त्री बन्न लागेको थाहा नभएको रावलको भनाई थियो । मन्त्री परिवर्तन गर्दा सम्बन्धित मन्त्रीलाई नै थाहा नभएको बताए । एनसेलको मुद्दा विदेशमा परिरहँदा देशको ७० अर्ब घाटा पर्ने कदमहरु चालेको आरोप लगाए । कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेलाई ७० अर्ब डुब्नबाट जोगाउन खोज्दा अर्को मन्त्रालयमा लगिएको बताए । अमेरिकाका लागि नवनियुक्त राजदूत डा. युवराज खतिवडा एनसेलको मुद्दा चल्न नदिन कदम चाल्न लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीको विदेश भ्रमणको चर्चाबारे सोधिएको प्रश्नमा रावलले देश हितमा कुनै कार्य नहुने बताए । ओलीले नेपालको दीर्घकालिन हित विपरित गर्नसक्ने भन्दै खबरदारी गर्ने बताए । उनले भने, ‘दुई तिहाईको सरकार हुँदा देशको नक्शा र क्षेत्रफलबारे पुस्तक प्रतिबन्ध लगाउने प्रधानमन्त्रीबाट विदेश भ्रमणबाट देशमाथि कुठाराघात हुनसक्छ ।’

ओलीलाई जालझेलमा लागेको आरोप लगाए । अध्यक्ष बनेर हस्ताक्षर गरेको समेत पालना नगरेको आरोप लगाए । उनले भने, ओली आफैले गरेको हस्ताक्षरविरुद्ध जानुभयो । ओलीले नैतिकहीन काम गरेको आरोप समेत लगाए । निर्वाचनको घोषणापत्रलाई समेत बेवास्ता गरेको तर्क गरे । उनले भने, ‘बरु जङ्गबहादुर राणाले आफूले हस्ताक्षर गरेको पालना गरे, ओलीले त आफैले गरेको हस्ताक्षरको उपहास गर्नुभयो ।’ ओलीले पार्टी र देशको भविष्यलाई अन्धकारतर्फ लगेको आरोप लगाए । ओलीको कदम देश खतरनाक अवस्थामा पुगेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको समेत रावलले आलोचना गरे । उनले भने, ‘मदन भण्डारी जिवित हुनुभएको भए के ठान्नुहुन्थ्यो होला ?’ देशमा धेरै जालझेलपूर्ण र षड्यन्त्रहरु विकास भएको बताए । ओलीलाई अराजक, गुटकर र जालझेल गर्ने भएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्