काठमाडौं, ११ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजनीतिक जीवनकै जोखिमयुक्त निर्णय लिए । संसदमा दुई तिहाई मतले बनेको सरकारको प्रधानमन्त्री उनले त्यही संसद बिघटन गरे । आफ्नो दलको भारी बहुमत हुँदाहुँदै ओलीले पार्टीभित्रैबाट सत्ताबाट हटाउने प्रयास भएपछि जोखिमयुक्त कदम चालेका हुन् ।
ओलीको चालेको कदमले उनको राजनीतिक भविष्य नै दाउमा पर्न सक्छ । यति हुँदा हुँदै पनि ओलीलाई लामो समययता साथ दिदै आएकाहरुले उनलाई छाडेनन् । उनको जोखिमयुक्त कदमहरुका सहयात्री बने । कोही प्रत्यक्ष अप्रत्यक्ष सहयोगी बने ।
ओलीको गुटमा कुनैबेला विद्या भण्डारी पनि थिइन् । उनलाई तत्कालिन नेकपा एमालेको उपाध्यक्ष सम्म बनाउन ओलीकै सहयोगी भूमिका रह्यो । भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गर्न पनि ओलीकै अडान सफल रह्यो । नेकपाभित्र माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता हस्ती नेताहरुको राष्ट्रपति बन्ने चाहना हुँदा हुँदै ओलीले भण्डारीलाई नै साथ दिए । यसरी उनले अवसर गुटबाट यताउता जान दिएनन् । भण्डारीले पनि अप्ठ्यारो अवस्थामा पनि ओलीलाई साथ दिन छाडेकी छैनन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समेत ओलीलाई प्रतिनिधिसभा बिघटनमा नजान सुझाव दिएका थिए । सुवासचन्द्र नेम्वाङको सुझाव पनि त्यस्तै थियो । तर, ओलीले कठोर कदम चाले । आफ्नो सुझाव ओलीले नमानेपनि ज्ञवाली र नेम्वाङ दुवैले साथ छाडेनन् ।
ओलीसँग गुटको रक्षा र संरक्षण गर्ने खुबी छ । तत्कालिन नेकपा एमालेमा हुँदा देखि ओलीले आफूलाई साथ दिनेलाई साथ दिइरहे । अवसरहरु आउँदा अवसर दिए । ओलीको त्यही गुनका कारण ज्ञवाली र नेम्वाङ जस्ता नेताहरुले उनको कहिल्यै साथ छाडेनन् । शंकर पोखरेल तर्क क्षमताका सिद्धान्तवादी नेताको परिचय बनाउन सकेका छन् । उनले पनि ओलीले कठोर कदम चाल्दा साथ छाडेनन् । बरु त्यसको बचाऊ गरे ।
तत्कालिन एमाले अध्यक्ष बन्दा ओलीको टिमबाट इश्वर पोखरेलले महासचिवमा जितेका थिए । पोखरेललाई ओलीले रक्षामन्त्रीसहित उपप्रधानमन्त्री बनाए । अहिले पनि उनी प्रधानमन्त्रीको कार्यालय हेर्नेगरी उपप्रधानमन्त्री छन् । पोखरेलले ओलीलाई कठिनाईमा पनि साथ दिइरहेका छन् ।
ओलीलाई लामो समययता साथ दिदै आएकामा नेकपा महासचिव विष्णु पौडेल पनि हुन् । बालुवाटार जग्गा काण्डमा पौडेल पनि मुछिएका थिए । तर, उनले मुद्दामा मुछिनुपरेन । ओलीले आफ्ना गुटका मान्छेलाई संरक्षण गर्छन् भन्ने उदाहरण हो यो । पौडेललाई अर्थमन्त्री समेत बनाएका छन् ।
गोकुल बाँस्कोटा ७० करोड घुसको टेपकाण्डमा मुछिए । अख्तियारमा उजुरी गयो । तर, बाँस्कोटाको ओलीले बचाऊ गरिरहे । बाँस्कोटा पनि ओलीको पक्षमा खुलेर आक्रामक ढंगले लागिरहेका छन् ।
महेश बस्नेतले ओलीलाई कठिन परिस्थितिहरुमा साथ दिइरहेका छन् । २५ नपुग्दै गाविस अध्यक्ष बनेर राजनीतिमा अगाडि बढेका बस्नेतलाई युवा संघको अध्यक्ष समेत बनाउनमा ओलीको साथ छ । बस्नेतले पनि जुझारु बनेर ओलीको साथ दिइरहेका छन् । ओलीविरोधीसँग जुध्न बस्नेत अगाडि बढिहाल्ने स्वभाव देखाउँछन् । कतिपय ओलीका कडा कदममा उनको भूमिका रहने गरेको छ । जसमध्ये पूर्व स्वास्थ्यराज्यमन्त्री सुरेन्द्र यादवलाई महोत्तरीबाट संघीय समाजवादी पार्टी फुटाउन ल्याउँदाको प्रकरणमा समेत बस्नेत प्रत्यक्ष संलग्न भएका थिए । वामदेव गौतमलाई बर्दियाबाट चुनाव हराउन पनि बस्नेतले युवा संघका कार्यकर्ता परिचालन गरेको आरोप खेपे ।
ओलीले चुनावपछि आफ्ना गुटका कतिपय जुनियरहरुलाई समेत ठुलो अवसर दिलाए । केन्द्रीय सदस्य रहेका शेरधन राईले विगतमा सञ्चारमन्त्रीको जिम्मा पाएका थिए । पछि प्रदेश १ को मुख्यमन्त्री पाए । उक्त प्रदेशमा स्थायी कमिटी सदस्य रहेका भीम आचार्य प्रदेशसभा सदस्यमै सिमित भए । बागमती प्रदेशमा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलाई पाखा लगाएर डोरमणि पौडेललाई अवसर दिए । गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री बनाइए ।
शंकर पोखरेल ओलीका विश्वासपात्र हुन् । अप्ठ्यारा दिनहरुमा पनि पोखरेलले ओलीको साथ छाडेनन् । पोखरेल विगतमा मन्त्री बनाइए । त्यसपछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने । दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने पोखरेलको चाहनामा ओलीले पूरा साथ दिए । यतिसम्मकी ओलीले नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गरौं भनेर पोखरेललाई नै अगाडि सार्न खोजेका थिए ।
ओलीलाई लामो समययता साथ दिदै आएकामा विष्णु रिमाल पनि हुन् । उनी कुनै बेला जिफन्टका अध्यक्ष थिए । ओली कमजोर अवस्थामा हुँदा पनि रिमालले साथ छाडेनन् । रिमाललाई पनि ओलीले महत्वपूर्ण जिम्मेवारी दिइरहे ।
नेकपा विभाजनपछिको कित्ताकाटमा प्रचण्ड पक्षधरहरुले गुट परिवर्तन गरेका छन् । तर, ओलीको गुटमा लामो समययता रहँदै आएका कुनै नेता पनि कतै गएनन् ।
ओलीले थोरै तर प्रभावकारी सहयोगीको साथ लिएर चुस्त र बलियो गुट विगतबाट नै चलाउँदै आएका छन् । यही गुटले नेकपाका हस्ती नेताहरुलाई ओलीमाथि टक्कर दिन हत्तपत्त नसक्ने बनाइदियो । तीन पूर्व प्रधानमन्त्रीहरु एक हुँदा पनि ओलीलाई सत्ताबाट हटाउन सकेनन् । बरु ओलीले तीन वर्षको प्रधानमन्त्रीत्वकालमै देशको शक्तिशाली निकायहरुमा विश्वासपात्रहरुलाई व्यवस्थापन गरेर झन् बलियो बन्दै गएका छन् ।
ओली पक्षधर स्थायी कमिटी सदस्यहरु
अध्यक्ष केपी शर्मा ओली
सचिवालय सदस्य इश्वर पोखरेल
सचिवालय सदस्य रामबहादुर थापा बादल
महासचिव विष्णु पौडेल
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ्ग
लेखराज भट्ट
किरण गुरुङ्ग
रघुवीर महासेठ
विष्णुप्रसाद रिमाल
सत्यनारायण मण्डल
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
मणि थापा
प्रभु शाह