Logo

३७ मेगावाटको अपर म्याग्दी निर्माणको तयारी



नाउरा, पुस १२ । म्याग्दीको धवलागिरि गाउँपालिका–४ नाउरामा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रालि काठमाडौँले निर्माण गर्न लागेको आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण शुरु गरेको छ । हाइड्रो इम्पायरका अध्यक्ष जीतबहादुर घर्तीले यसअघि २० मेगावाटको अनुमति पाएको आयोजनाको क्षमता बढाएर ३७ मेगावाट बनाउन परिमार्जित वातावरणीय परीक्षण (इआइए) प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

प्रतिवेदनमा प्रभावित क्षेत्रका बासिन्दा तथा सरोकारवालाको सुझाव सङ्कलन गर्न शनिबार नाउरामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा अध्यक्ष घर्तीले लगानीकर्ता खोज्ने काम पनि भइरहेको जानकारी दिए । “बिमको शिवरात्रिखोलाबाट भारबाङ, कल्लेनी, छहरी हुँदै बाँसबोटसम्म करिब पाँच किलोमिटर पहुँचमार्गको ट्र्याक खोलिसकेका छौँ”, उनले भने, “मनसुन अघिसम्म विद्युत्गृह र आगामी मङ्सिरसम्म बाँधलाई पहुँचमार्गले जोड्छौँ । थपिएको क्षमताको इआइए पारित भएपछि पिपिए र लगानीको सम्झौता हुन्छ ।”

आयोजनाले करिब १४ किलोमिटर दूरीको पहुँचमार्ग निर्माण गरिरहेको छ । सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ बन्ने आयोजनाको विद्युत्गृह म्याग्दीखोला र मुदीखोलाभन्दा एक किलोमिटरमाथि प्रस्ताव गरिएको छ ।

तीन किलोमिटर ५५३.३३ मिटर लामो सुरुङबाट ल्याइने पानी ३००.८८ मिटर अग्लो हेडबाट विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने भएको छ । आउटलेटबाट विद्युत्गृहसम्म ७९७.९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्