Logo

भूकम्पमा भत्किएका प्रहरीका ९८ भवन बने



काठमाडौं, पुस १२ । २०७२ सालको भूकम्पमा नेपाल प्रहरी बसोबास गर्दै आएका १ सय ५ वटा प्रहरी कार्यालय ध्वस्त भएका थिए । तीमध्ये ९८ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सकिएको छ । भूकम्पपछि टेन्ट र जस्तामुनि बसेर शान्तिसुरक्षा प्रदान गर्दै आइरहेको प्रहरीलाई भवन बनेपछि केही सहज भएको छ । प्रहरी प्रधान कार्यालयभित्रका दुईवटा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको एउटा भवन बनिसकेका छन् । त्यस्तै महानगरीय प्रहरी कार्यालयअन्तर्गतका पाँचवटा प्रहरी कार्यालय पनि निर्माण भइसकेका छन् ।

प्रदेश १ मा पर्ने एउटा, बागमती प्रदेशभित्रका ६२ वटा, गण्डकी प्रदेशका ११ वटा र लुम्बिनी प्रदेशको एउटा भवन पुनर्निर्माण सकिएर सञ्चालनमा आइसकेका छन् । सातवटा भवन निर्माण कार्य भने अझै अन्योलमा छ । यसबाहेक अझै ५ सय ६३ वटा प्रहरी कार्यालय सरकारले निर्माण गर्न सके प्रहरीलाई शान्तिसुरक्षा प्रवाह गर्न सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले प्रहरीलाई अझै पनि भौतिक पूर्वाधारको कमी भइरहेको बताए । ‘हामी सधैं प्रहरीमाथि प्रश्न उठाइरहन्छौं तर प्रहरीले कस्तो संरचनामा बसेर शान्तिसुरक्षा दिएको छ भन्नेबारे सोच्दैनौं,’ उनले भने । उनले प्रदेश ५ का ९४ वटा प्रहरी कार्यालय भाडाको भवनबाट सञ्चालन भइरहेको बताए ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्