Logo

लुम्बिनी प्रदेशमा दुई तिहाईको शंकर पोखरेल नेतृत्वको सरकार धरापमा



काठमाडौं, १२ पौष । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको दुई तिहाईको सरकार धरापमा परेको छ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनसँगै पोखरेल सरकार धरापमा परेको हो ।

लुम्बिनी प्रदेशमा पोखरविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य अगाडि बढेको छ । त्यसका लागि नेकपाको प्रचण्ड समूहका नेताहरु सक्रिय भएका छन् ।

लुम्बिनी प्रदेशमा कुल ८७ जना सांसद छन् । जसमध्ये नेकपाका ६१ सांसद रहेकोमा ओली पक्षधर ४० जना रहेका छन् । प्रचण्ड समूहमा २१ जना रहेका छन् । ४० सांसद मात्र ओली पक्षधर रहेकाले पोखरेल अल्पमतमा परेका छन् ।

पोखरेलविरुद्ध अविश्वाको प्रस्ताव दर्ता भएमा उनलाई ४ जना सांसद अपुग हुन्छ । त्यसका लागि नेकपाको दुवै समूहभित्रै तानातान हुने अवस्था छ ।

लुम्बिनी प्रदेशमा नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । पोखरेललाई काँग्रेस या जसपाले समर्थन नगरे बुहमत पुग्दैन । तर, काँग्रेस र जसपा दुवै आन्दोलनमा भएकाले पोखरेल सरकारलाई समर्थन गर्ने सम्भावना कम छ ।

नेकपा ओली समूह प्रचण्ड समूहका सांसदहरुलाई तान्न सक्रिय भएको छ । यसले पार्टी विभाजनपछि प्रदेश तहमा ठुलै राजनीतिक अस्थिरता देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्