Logo

राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता येझाउ नेपाल आए



काठमाडौं, पुस १३। नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका उपमन्त्री येझाउ नेकपा विभाजनको संघारमा पुगेको बेला नेपाल आएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा फाटो आएको थियो । नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टी चिन्तित बनेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । काठमाडौं ओर्लेलगत्तै उपमन्त्री येझाउको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि आश्चर्यचकित बनेको चीन नेकपा पार्टी विभाजनबाट चिन्तित रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको भ्रमण नेकपालाई एकजुट बनाउने प्रयासमा केन्द्रित हुनेछ । यसअघि पनि नेकपामा विवाद भएको बेला चिनियाँ राजदूत होउ यान्छीले विशेष भूमिका निर्वाह गरेकी थिइन् । अहिलेको पछिल्लो राजनीतिक अवस्था जटिल मोडमा पुगेपछि भने चिनियाँ राजदूत यान्छीले नेकपा फुटको संघारमा पुगेको बिफ्रिङ गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको भ्रमणको विषयमा छिमेकी भारतले भने निकै चासोका साथ हेरिरहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्